हालान्डले गरे डर्टमुन्डको उद्धार !

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा तेस्रो जित निकालेको छ। शनिबार राति भएको खेलमा डर्टमुन्डले बायर लिभरकुसन माथि ४–३ को रोमाञ्चक जित निकालेको हो।

लिभरकुसनको घरेलु मैदान बे एरिनामा डर्टमुन्डको तर्फबाट हालान्डले दुई गोल गर्दा जुलिएन ब्रान्ड र राफयल गुरेइरोले एक-एक गोल गरे। त्यस्तै लिभरकुसनको तर्फबाट फ्लोरिएन रिट्ज, प्याट्रिक सिक र मौसा डियावीले गोल गरे।

खेलको नवौं मिनेटमै लिभरकुसनले अग्रता लिएको थियो। लिभरकुसनका लागि उक्त गोल फ्लोरिएन रिट्जले गरेका थिए। खेलको ३७औं मिनेटमा हालान्डले बराबरी गोल फर्काए। उनले पाउलिन्होको पासमा गोल गर्न सफल भएका थिए।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमै प्याट्रिक सिकले फ्लोरिएन रिट्जको पासमा गोल गरे। ४९औं मिनेटमा जुलिएनले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याए। उनले हालान्डको पासमा गोल गरेका थिए।

मौसा डियावीले ५५औं मिनेटमा लिभरकुसनका लागि तेस्रो गोल गरे। ७१औं मिनेटमा राफयल गुरेइरोको गोलले डर्टमुन्डलाई पुनः खेलमा फर्कायो। पेनाल्टी बक्समा कप्तान मार्काे रिउसलाई ओडिलोन कोस्सोनोउले फल गरेपछि पाएको पेनाल्टीलाई हालान्डले खेर जान दिएनन्। हालान्डले पेनाल्टीमा गरेको गोल नै खेलको अन्तिम गोल बन्न पुग्यो। शनिबार भएको खेलमा हालान्डको तीन गोलमा भूमिका रह्यो।

प्रकाशित : शनिबार, भदौ २६, २०७८२२:३३

“मैले बालोन डी ओरलाई होइन, बालोन डी ओरले मलाई मिस गर्छ”