बार्सिलोनासँग खेल्नु अगाडी डरलाग्दो लयमा बायर्न, ६ खेलमै २८ गोल !

एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत समूहचरणको खेलमा क्याटलान क्लब बार्सिलोनाको सामना गर्नुअगाडी जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित निकालेको छ। शनिबार भएको खेलमा बायर्नले आरबी लाइप्जिगमाथि ४–१ को फराकिलो जित निकालेको हो।

बायर्नको जितमा चार फरक खेलाडीले गोल गरे। गोल गर्ने खेलाडीहरुमा रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, लिरोए साने र एरिक म्याक्सिम चुपो मोटिङ रहेका छन्। लाइप्जिगका लागि एक मात्र गोल कोनराड लेइमारले गरेका थिए।

खेलको १२औं मिनेटमै रोबर्ट लेवान्डोस्कीले पेनाल्टी गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन। तर, दोस्रो हाफको शुरुमै जमल मुसिएलाले गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर पारे भने ५४औं मिनेटमा लिरोए सानेले जमल मुसिएलाको पासमा गोल गरे।

५८औं मिनेटमा कोनराड लेइमारले केभिन काम्पलको पासमा लाइप्जिगका लागि पहिलो र एकमात्र गोल गरे। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट चुपो मोटिङले गोल गर्दै खेललाई ४-१ मा पुर्याए।

उच्च लयमा बायर्न

च्याम्पियन्स लिगको समूह ‘इ’मा रहेको बायर्नले यहि मंगलबार राति बार्सिलोनाको सामना गर्दैछ। बार्सिलोनाको सामना गर्नु अगाडी बायर्न उच्च लयमा देखिएको छ। नयाँ सिजन शुरु भएयता बायर्न कुनै पनि खेलमा पराजित भएको छैन। अपराजित बायर्न ४ खेलबाट १० अंक जोडेर बुन्डेसलिगाको दोस्रो स्थानमा छ।

बुन्डेसलिगाका ४ खेलमा बायर्नले १३ गोल गरिसकेको छ। जर्मन डिएफवी पोकल र जर्मन सुपरकपको समेत गोल जोड्ने हो भने बायर्नले यस सिजन २८ गोल गरिसकेको छ। बायर्नले सुपरकपका ३ गोल तथा जर्मन डिएफवी पोकल कपमा १ दर्जन गोल गरेको थियो।

प्रकाशित : आइतबार, भदौ २७, २०७८११:०७

रोनाल्डोसँग खेल्न पाउँदा लिंगार्ड हुरुक्कै, मख्ख पर्दै गरे ठूला सपनाका कुरा !