काठमाडौँ – चर्चित गायिका विष्णु माझीको अवस्थालाई लिएर सर्वत्र सोधखोज हुन थालेपछि प्रहरीले माझीको माइतीपक्षसँग सोधपुछ गरेको छ। माझीको अवस्था बारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगले दिएको निर्देशनका आधारमा प्रहरीले माझीको माइतीपक्षसँग सोधपुछ गरेको हो।
स्याङ्जा चापाकोट स्थित माझीको माइतीघर पुगेर सोधपुछ गरिएको र सोक्रममा माइतीपक्षले माझी कयौं वर्ष देखि माइती नआएको जवाफ दिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली सोमबार चापाकोट पुगेको बताइएको छ।
लोक संगीत क्षेत्रमा अत्याधिक चर्चा कमाउन सफल माझी सार्वजनिक रुपमा देखिने गरेकी छैनन्। उनको अवस्थालाई लिएर विभिन्न समयमा सर्वसाधारणहरुले चासो राख्ने गरेका छन्।
दुई वर्ष अगाडी पनि माझीको विषयमा सर्वत्र चासो व्यक्त गरिएपछि विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए। सो क्रममा माझीले आफैं सार्वजनिक रुपमा देखा पर्न नचाहेको र सार्वजनिक रुपमा हिडडुल नगरेको जवाफ दिएका थिइन्।