लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले आफ्ना साथी फुटबलरहरुबाट प्रशंसा कमाउन जारी छ। बेजिकटस मिडफिल्डर मिरालेम पिजानिकले दुई सुपरस्टारका खेलको केहि विशेषताहरु तुलना गर्दा प्रतिष्ठित जोडिको सराहना गरेका छन्।
फुटबल इतिहास कै सर्वश्रेष्ठ खेलाडी मध्येमा गरिने दुबै स्टारसँग खेल्न पाउने थोरै मात्र खेलाडीको सूचीमा पर्छ पिजानिकको नाम। बोसनियन खेलाडीले पोर्चुगिज कप्तान रोनाल्डोसँग २०१८ देखि २०२० सम्म इटालियन क्लब युभेन्टसमा खेल्ने मौका पाए। सन् २०२० मा स्पेनिस क्लब बार्सिलोनासँग अनुबन्ध भएका पूर्व रोमा स्टारले ६ पटकका ब्यालुन डी ओर विजेताका मेस्सीसँग एक सिजन खेलेका छन्।
मेस्सी र रोनाल्डो दुबैसँग खेल्दाको अनुभवका बारेमा बोल्दै बेजिकटस स्टारले भने,”दुई एलियनसँग खेल्न पाउँदा म आफूलाई निकै भाग्यमानी ठान्छु। यो एक उपाधि जितेको सर उपलब्धि हो।”
मेस्सी र रोनाल्डो बीचको तुलना गर्दै उनले भने,”उनीहरु एक-अर्का भन्दा निकै फरक छन् र त्यहि समयमा समानता पनि रहेको छ। दुबै स्टार ट्रेनिङमा पनि प्रतिस्पर्धा र जीतका लागि जान्छन्। रोनाल्डोले हरेक एक साना-साना कुराको पनि ध्यान दिन्छन् भने मेस्सी भने त्यति कडा परिश्रम गर्दैनन्।
बोस्नियन मिडफिल्डरले मेस्सीले रोनाल्डोको जस्तो परिश्रम नगरेता पनि अर्जेन्टिनी कप्तानको क्षमताबाट भने निकै प्रभावित देखिन्छन्। “मेस्सीसँग एक अनौठो क्षमता छ। उनले फुटबल मैदानमा कठिन भन्दा कठिन चिजलाई पनि सहज देखाउँछन्,” पिजानिकले खुलासा गरे।