एजेन्सी – आइतबार एन्टोइन ग्रिजमनले एट्लेटिको म्याड्रिडका लागि दोस्रो डेब्यु गरे। यसै समरमा बार्सिलोनाबाट लोनमा एट्लेटिको पुगेका ग्रिजमनले आइतबार स्पान्योल विरुद्ध डेब्यु गरेका हुन्।
ग्रिजमनको दोस्रो डेब्यु उनका लागि खासै सुखद रहेन। ग्रिजमनले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेनन्। ग्रिजमन खेलभर संघर्षरत देखिए। बार्सिलोनामा हुँदा पनि खासै उच्च लयको प्रदर्शन गर्न सफल ग्रिजमनको प्रदर्शनमा एट्लेटिको गएपछि सुधार हुने धेरैले आशा गरेपनि आइतबारको खेलमा त्यस्तो देखिएन।
आइतबारको खेलमा ग्रिजमन खासै सहज अवस्थामा देखिँदैनथे। स्पान्योल विरुद्ध ग्रिजमनको पास पनि सटीक थिएनन्। ५८ मिनेट सम्म मैदानमा रहँदा उनले २४ पास मात्र खेले।
आइतबार लुइस सुआरेजले पनि खासै राम्रो खेल्न सकेनन्। बार्सिलोनामा सँगै खेलिसकेका यी दुईबाट एट्लेटिकोले जस्तो आशा गरेको थियो, त्यस्तो प्रदर्शन हुन सकेन। फलतः प्रशिक्षक सिमोनीले दुवैलाई प्रतिष्थापन गरे।
सामाजिक संजालमा ट्रोल
एट्लटिकोले अग्रपङ्तिमा लुइस सुआरेजसँगै एन्टोइन ग्रिजमनलाई उतारेपनि उनीहरुले सोचेअनुरुपको प्रदर्शन गर्न नसकेपछि दुवैको सामाजिक संजालमा ट्रोल भएको छ। धेरैले दुवैलाई टीमको शुरुवाती ११ मा राख्ने भन्दा पनि वैकल्पिक खेलाडीको सूचीमा राख्नु पर्ने बताइरहेका छन्।
आइतबारको खेललाई लिएर ग्रिजमनको अझ बढी ट्रोल भएको छ। एक सामाजिक संजाल प्रयोगकर्ता लेख्छन्,”ग्रिजमनसँग एट्लेटिकोका खेलाडीहरु मैदानमा भन्दा मैदान बाहिर सहज देखिन्छन्।” अर्का थप लेख्छन्,”ग्रिजमनले मैदान छाडेपछि बल्ल खेल खेल जस्तो भयो।”