एजेन्सी – सिजन शुरु हुनु भन्दा अगाडी रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी छुट्टै योजनामा थिए। एन्सेलोटीले ग्यारेथ बेल र इडेन हजार्डलाई करीम बेन्जेमासँगै उतार्ने योजना बनाएका थिए।
बेल र हजार्डको अनुभवलाई प्राथमिकता दिने पक्षमा उनी थिए। तर, नयाँ सिजनको चौंथो खेल सम्म आइपुग्दा एन्सेलोटी आफ्नो योजनामा परिवर्तन गर्न बाध्य भएका छन्। एन्सेलोटीलाई आफ्नो योजना र प्राथमिकता परिवर्तन गर्न बाध्य पार्ने अरु कोहि नभई ब्राजिली युवा विंगर भिनिसियस जुयिनर हुन्।
भिनिसियस जुयिनरले लगातार गरिरहेको सुधार र उच्च स्तरको खेल प्रदर्शनले एन्सेलोटीको प्रारम्भिक योजनामा बाधा पुगेको छ भने उनी आफ्नो योजनामा परिवर्तन गर्न बाध्य भएका छन्।
देब्रे तर्फबाट खेलाउँदा भिनिसियस झनै राम्रो प्रदर्शन गर्न थालेका छन्। बेन्जेमासँग उनको तालमेल पनि राम्रो मिलिरहेको छ। पछिल्ला ४ खेलमा रियलबाट भएका १३ गोल मध्ये बेन्जेमा र भिनिसियसले मात्र ९ गोल गरेका छन्। त्यसमा ४ गोल भिनिसियसले गरेका हुन्। यो गोल संख्या अघिल्ला ४६ खेल बराबरको हो। भिनिसियसले यस अगाडी ४६ खेलमा ४ गोल गरेका थिए।
यस सिजन भिनिसियसले सुधारको संकेत मात्र देखाएका छैनन्, खेलमा निर्णायक भूमिका पनि निभाउन शुरु गरेका छन्। भिनिसियसको सुधारिएको स्तरले विपक्षी डिफेन्डरहरुलाई समस्यामा पार्न थालिसकेको छ। हालको अवस्थालाई हेर्ने हो भने बेन्जेमासँग भिनिसियसको घातक सहकार्य हुने देखिन्छ।