बार्सिलोनाबाट मेस्सीको बहिर्गमन क्लब कप्तान सर्जियो बुस्केटका लागि निकै आश्चर्यचकित रहेको स्वीकार गरेका छन्। तर मेस्सीको अनुपस्थितिमा पनि क्लबले च्याम्पियन्स लिग उपाधि जित्न सफल हुने दाबी गरेका छन्।
गत समर ट्रान्सफर विन्डोमा २१ वर्ष बार्सिलोनामा बिताएपछि ६ पटकका ब्यालुन डी ओर विजेता फ्रेन्च क्लब पीएसजी प्रस्थान गरेका हुन्। बार्सिलोनाको घाटा पीएसजीको लागि अतुलनीय नाफा भयो। तर मेस्सी बिना पनि अब बार्सिलोना अगाडी बढ्नु पर्ने र सार्वाधिक गोल गर्ने दक्षिण अमेरिकी स्टार बिना पनि क्लब उपाधि जित्न सक्षम रहेको कप्तान बुस्केटले बताएका छन्।
पत्रकारसँग मेस्सीको बहिर्गमनको बारेमा स्पेनिस मिडफिल्डरले भने,”त्यो निकै आश्चर्यचकित थियो, सबै कुराको लागि जुन मेस्सीले बार्सिलोना र व्यक्तिगत रूपमा मलाई दिएका छन्।” मेस्सीको बहिर्गमनको खबर पचाउन आफूलाई अझै पनि कठिन भइरहेको खुलासा गर्दै उनले भने,”अब हामीले त्यो कथा परिवर्तन गर्ने समय आएको छ। हामी सिजनको सुरुवातमा छौं र मेस्सी बिना नै खेल्ने बानी गर्नुपर्छ।”
यस्तोमा मंगलबार राति हुने बार्यन म्युनिख विरुद्ध च्याम्पियन्स लिग समूह चरणको पहिलो अगाडी क्याटालान क्लबले प्रतियोगितामा कस्तो नतिजा आशा गरेको भन्ने प्रश्नमा बुस्केटले भने,”फुटबलमा जे पनि हुनसक्छ। गत सिजन चेल्सीले जित्यो, जसलाई पहिले दाबेदारको रूपमा हेरिएको थिएन। सबैभन्दा महत्वपूर्ण भनेको सामुहिक कुरा हो। हामीलाई थाहा छ मेस्सीको जस्तो व्यक्तिगत क्षमता हामीसँग छैन। तर पनि हाम्रो टोली राम्रो छ, हामी जित्न चाहन्छौं।”