एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
समूह ‘एफ’ मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेलु मैदान वान्कडर्फ बर्नमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १०:३० बजे हुदैछ । घरेलु मैदानमा योङ ब्वाइज म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । प्ले अफको यात्राबाट समूह चरणमा स्थान बनाएको टोलीसँग मेस्चाक इलिया, थियोसन जोर्डन सिबाचिउ, निकोलस नागामालेउ, युलिसेस गार्सिया, मोहम्मेद एले कामरा, सिल्भान हेफ्टी र गोलरक्षक डेभिड भोन वाल्मोसको साथ रहेको छ ।
यता, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको आगमनले उच्च मनोबलमा रहेको म्यानचेस्टर युनाइटेड पनि घरेलु टोलीलाई हराउँदै सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । युनाइटेडका लागि रोनाल्डो नै मख्य हतियार हुनेछन् । यसै समरको डेडलाइन डे मा युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड आएका रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेका थिए ।
जेडान सान्चो, ब्रुनो फर्नान्डेस, मेसान ग्रीनवुड, पल पोग्वा, फ्रेड, लुका सा, ह्यारी मगाएर, राफयल भरान, आरोन वान विशाखा र गोलरक्षक डेभिड हे गेया रहेका छन् । यस्तै जेसे लिङ्गार्ड, एन्थोनी मार्सियाल र डोनी भान डि विक पनि टोलीमा रहेका छन् ।
यी दुई टोली तेस्रोपटक भिड्न लागेका हुन् । यि दुई टोलीले सन् २०१८ मा समूह चरणमै प्रतिस्पर्धा गरेका थिए । दुवै खेलमा युनाइटेडले ३–० र १–० को जित निकालेको थियो । समूह ‘एफ’ अन्तर्गत कै अर्काे खेलमा स्पेनिस क्लब भिल्लारियलले इटालियन क्लब एटलान्टासँग घरेलु मैदानमा राति १२ः४५ बजे प्रतिस्पर्धा गर्दैछ ।