पीएसजी प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लबले यो सिजन लियोनल मेस्सी अनुबन्ध गर्न सक्छ भने नसोचेको स्वीकार गरेका छन्। बार्सिलोनामा ५० प्रतिशत पारिश्रमिक कम गर्दा पनि सम्झौता हुन नसकेपछि अर्जेन्टिनी कप्तान २१ वर्षपछि क्याटालान क्लब छाड्दै फ्रेन्च क्लब प्रस्थान गरेका थिए।
युईएफए डटकममा बोल्दै पीएसजी बोसले भने,”मेस्सीको वर्णन गर्न म उपयुक्त व्यक्ति नहुन सक्छु। धेरै मानिस छन् जसले मेस्सीलाई निकै राम्रोसँग बुझेका छन्। उनी सधैं नै विश्व कै सर्वश्रेष्ठ खेलाडी मानिन्छन्। उनले फ्रान्समा निकै राम्रो गरिरहेका छन् र छिट्टै घुलमिल भएका छन्।” पहिलो पटक आफूलाई पीएसजीले मेस्सी अनुबन्ध गर्न सक्ने नलागेको अर्जेन्टिनी प्रशिक्षकले बताएका छन्।
“मलाई लागेको थिएन कि पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न सक्छ। तर जब उक्त अवसर प्राप्त भयो, सबै कुरा निकै छिटो भयो। हामी दुई बीच राम्रो समबन्ध रहेको छ। हामी दुबै नै अर्जेन्टिनी हौँ र हामी दुबैले न्युवेल्स बोएज क्लबलाई समर्थन गर्छौं,” पीएसजी प्रशिक्षकले भने,”विपक्षीको रूपमा सामना गर्दा पनि मैले उनलाई लामो समय देखि निकै अनुसरण गर्ने गर्थें। अहिले उनीसँग ट्रेनिङ गर्न पाउँदा निकै खुसी छु।”
गत अगस्टमा ६ पटकका ब्यालुन डी ओर विजेता बार्सिलोना छाडेर फ्रेन्च कलन प्रस्थान गरेका थिए। अर्जेन्टिनी कप्तानले क्लबसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन्। रेइम्स विरुद्ध क्लबका लागि डेब्यु खेल खेलिसकेका ३४ वर्षीय स्ट्राइकरले बुधबार राति क्लब ब्रुज विरुद्धको खेलमा पीएजजीको जर्सीमा पहिलो पूरा खेल खेल्ने सम्भावना रहेको छ।