चार मन्त्री र एक राज्यमन्त्रीको भरमा चल्दै देउवा सरकार !

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै आइरहेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

सत्ता गठबन्धनभित्रको किचलो र आन्तरिक व्यवस्थापनमा देखिएको चुनौतीपछि २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले दुई महिनासम्म पनि पाँच जना नै मन्त्रीका भरमा सरकार चलाइरहेका छन् । त्यसमा पनि एक जना भने राज्यमन्त्री छन् । प्रधानमन्त्रीसहित गर्दा सरकार ६ सदस्यीय मात्रै छ ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दो छ । प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटकपटक शीर्ष नेताहरूलाई आग्रहसमेत गर्दै आएका छन् । उनले गत बिहीबारबाट भने निरन्तरजसो गठबन्धन बैठकमा मन्त्रीको सूची दिन नेताहरूलाई आग्रह गरिरहेका छन् ।

मंगलबारसमेत प्रधानमन्त्री देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई सरकार विस्तारबारे छलफल गर्न भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न पठाएका थिए । खड्काले दाहालसँग माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका थिए ।

‘प्रधानमन्त्रीले मन्त्रीका लागि गठबन्धन आबद्ध दलका नेताहरूसँग पटकपटक नाम मागिसक्नुभयो, उहाँहरू आफ्नो आन्तरिक किचलो र व्यवस्थापनको विषयलाई सरकारमा जोडेर नाम दिन ढिला गरिरहनुभएको छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८०८:२४

उपेन्द्र यादवलाई फेरी पार्टी फुट्ने चिन्ता !