हालाण्ड र एम्बाप्पे दुवैलाई भित्र्याउन सक्ने अवस्थामा रियल, पैसा ‘पोको’ पारेर राखेको खुलासा !

एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेबासले किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड दुवैलाई किन्न सक्ने अवस्थामा रियल म्याड्रिड रहेको दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा टेबासले रियल म्याड्रिड एम्बाप्पे र हालाण्ड दुवैलाई किन्न सक्ने अवस्थामा रहेको दावी गरेका हुन्।

कोरोना भाइरस महामारीका कारण रियल म्याड्रिडले खासै ठूलो क्षति नबेहोरेको र ठूलो लगानी गर्न सक्ने अवस्थामा रहेको खुलासा टेबासले गरे। उनका अनुसार रियल म्याड्रिडले खेलाडी बेचेर २ सय मिलियन युरो भन्दै बढी कमाइसकेको टेबासले बताए।

“उनीहरू [रियल म्याड्रिड]ले २ सय मिलियन युरो बराबर मूल्यका खेलाडीहरु बेचेका छन्। उनीहरुसंग एम्बाप्पे र हालाण्ड दुवै खेलाडी किन्न सक्ने पैसा छ। उनीहरुले पैसा गुमाएका छैनन्, खेलाडी बेचेर धेरै कमाएका छन्।”,टेबासले भने।

एम्बाप्पे र हालाण्ड अहिले युरोपमा तरंग पैदा गरिरहेका छन्। बोरुसिया डर्टमण्डबाट खेलिरहेका हालाण्ड आफूलाई गोल मेसिनको रुपमा उभ्याइरहेका छन् भने एम्बाप्पे पनि आफूलाई एक स्टारको रुपमा प्रमाणित गरिरहेका छन्। दुवै खेलाडी माथि युरोपका सबै ठूला क्लबको नजर छ।

केहि हप्ता अगाडी मात्रै बन्द भएको ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याउने प्रयास गरेको थियो। त्यसका लागि उसले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २ सय मिलियन युरोको प्रस्ताव समेत गरेको थियो। उक्त प्रस्ताव पिएसजीले अस्विकार गरेको थियो।

पछिल्लो रिपोर्टहरुका अनुसार रियलले एम्बाप्पे र हालाण्ड दुवै खेलाडीलाई भित्र्याउने योजना बनाएको छ। एम्बाप्पेलाई फ्री ट्रान्सफरमा भित्र्याएर हालाण्ड माथि जोही गरेको रकम खर्च गर्ने रियलको योजना छ।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१०:३९

पीएसजीको जर्सीमा मेस्सीको च्याम्पियन्स लिग डेब्यु आज, यसरी हेर्नुहोस् नेपालमा लाइभ खेल !