रुखमा डेरा बनाएर अनलाइन कक्षा पढ्दै आएका छात्रलाई उपमेयरको सहयोग !

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्दै आएका थिए। सरस्वती माध्यमिक विद्यालय अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिनौं देखि अनलाइन कक्षा लिइरहेका थिए।

नवलपुर सिम्लेमा मोबाइलबाट खासै इन्टनरनेट नभएको कारण उनी डाटा चल्ने ठाउँ खोजेर रुखमा डेरा बनाएर कक्षा लिन बाध्य भएका थिए। विद्यालयले २४ साउनदेखि अनलाइन कक्षामार्फत पढाइ सुरु गरेको थियो। असोज ३ गतेबाट भौतिक रुपमा नै कक्षा संचालन हुने भएपछि भने उनलाई सहज हुने देखिएको छ।

मगरको पढाईप्रतिको यस्तो लगनशीलतालाई देखेर हलेसी तुवाचुब नगरपालिकाकी उपमेयर बिमला राईले मगरलाई शैक्षिक सामग्री सहयोग गरेकी छिन्। कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि साउन २४ गतेबाट अनलाइन कक्षा सुरु भएपनि निकै कठिनाईको सामना गर्नु परेको मगरलाई उपमेयर राईले मोबाइल चार्ज गर्न एक थान ब्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कापी र १ थान डायरी उपलब्ध गराएकी हुन्।

आफ्नै व्यक्तिगत खर्चमा मगरलाई सहयोग प्रदान गरेकी राईले मंगलबार विद्यालय नै पुगेर मगरलाई शैक्षिक सामग्री सहयोग गरेकी हुन्।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१५:२६

नेप्सेमा उच्च अङ्कको गिरावट, तर पनि यी कम्पनीका शेयर मूल्य बढे !