एमालेले थाल्यो चुनावको तयारी !

बुटवल । ‘देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकाससहित समृद्धि ल्याउन एमालेबाट मात्र सम्भव छ,’ बुधबार बुटवलमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने । सोही कार्यक्रममा उपमहासचिव विष्णु पौडेलले भने, ‘आगामी निर्वाचनमा हामी एमालेको तागत र हैसियत देखाउँछौँ। जनताको समर्थन लिएर एमाले सरकारको नेतृत्वमा आउँछ। एमालेबाहेक अरु कसैले मुलुक बनाउन सक्दैन ।’

यी भनाइले देखाउँछन्– एमालेलाई चुनावको तातो लागिसकेको छ । पाँच दलीय गठबन्धन सरकार विस्तार समेत गर्न नसकेर अलमलिइरहेको बेला एमाले भने संगठन विस्तारसँगै चुनावलक्षित गतिविधिमा केन्द्रित भइसकेको छ । माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका केही प्रभावशाली नेताहरुले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले भदौ दोस्रो साताबाट जिल्ला भेला थालेको थियो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

बुधबारसम्म ५० भन्दा बढी जिल्लाको भेला सकिएको र आगामी असोज पहिलो हप्ता ७७ वटै जिल्लाको भेला सकिने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेबाट करिब १० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एकीकृत समाजवादीमा लागेका छन् । बाँकी कार्यकर्तालाई एकीकृत समाजवादीमा जानबाट रोक्न र गएकाहरुलाई तान्ने प्रयास भइरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए ।
‘निर्वाचन अभियान ठ्याक्कै नभनौँ, अहिले संगठन विस्तार अभियान चलाएका छौँ,’ पोखरेलले भने, ‘तर, हामी ग्राउन्डसम्मै पुग्छौँ, कार्यकर्तालाई हाम्रा कुरा राख्छौँ ।’

एमाले अध्यक्ष ओलीसहित सबै प्रमुख नेताहरु अहिले जिल्ला जिल्लामा छन् । पार्टी सचिव योगेश भट्टराई स्याङ्जा छन् । सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली गुल्मीमा छन् । अध्यक्ष ओलीले झापा, पोखरा र रुपन्देहीको बुटवलमा भएको सभालाई सम्बोधन गरे । महासचिव पोखरेलले सबै नेताहरु जिल्ला जिल्लामा खटाइएको स्वीकार गरे । ‘विभाजनपछि पार्टीको अवस्था नबिग्रियोस् भनेर माथिदेखि तलैसम्म पार्टीलाई जोड्न नेताहरु खटाइएको हो,’ पोखरेलले थपे ।

पार्टीको सम्पूर्ण ध्यान अब चुनावतिर केन्द्रित भइसकेको एक स्थायी समिति सदस्यले बताए । ‘यो सबै चुनाव केन्द्रित नै हो । अहिलेको सत्ता गठबन्धनको हालत के हो के हो, जुनसुकै बेला चुनाव हुनसक्छ,’ ती नेताले भने, ‘अब हुने चुनावमा स्थानीय तहमै केन्द्रित हुनुपर्ने भएकाले अहिलेदेखि गतिविधि बढाइएको हो ।’

केन्द्रीय सदस्य विष्णु रिजालको भनाइ पनि त्यही छ । ‘यो वर्ष स्थानीय तहको चुनाव हुँदैछ । त्यसपछि लगातार प्रदेश र केन्द्र तहको चुनाव हुन्छ,’ रिजालले भने, ‘स्थानीय तह बलियो बनाए मात्र अन्य चुनावलाई सजिलो हुन्छ ।’ नेकपा एमालेले २०७४ को चुनावमा स्थानीय तहमा सबैभन्दा बढी जित हात पारेको थियो । प्रदेश र संघमा पनि एमाले ठूलो दल बन्यो । यद्यपि प्रदेश र संघको चुनावका बेला एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८०८:२४

शंकर पोखरेललाई नछोड्ने मुडमा सांसद् बिमला: भन्छिन्- ‘मलाई सिध्याउन खोज्नेलाई छोड्दिन’