बढ्ने भयो इन्टरनेटको मूल्य, ग्रामिण क्षेत्रमा झनै महँगो हुने भयो !

काठमाडौँ – नेपालमा अब इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन्। बुधबार बसेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले इन्टरनेटको मूल्य ३ सय रुपैंयाँ सम्म बढाउने निर्णय गरेको छ।

अब ग्रामीण क्षेत्रमा इन्टरनेटको मूल्य ३ सय रुपैंयाँ सम्म बढ्नेछ भने शहरी क्षेत्रमा इन्टरनेटको मूल्य १ सय ५० रुपैंयाँ सम्म बढ्नेछ। बिजुलीको पोलको भाडा बढेको कारण इन्टरनेटको मूल्य बढाउन आफूहरु बाध्य भएको आइस्पानले जनाएको छ।

यसअघि विद्युत् प्राधिकरणले एउटा पोल प्रयोग गरेबापत प्रतिमहिना दुई सय ५० रुपैयाँ लिने गरेकोमा अहिले किलोमिटरका दरले शुल्क तोकेको छ। यस्तो हुँदा एउटा पोल प्रयोग गरेबापत प्रतिमहिना दुई सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ। सरकारले फाइबर लिजको समेत भाडा बढाउँदा मूल्य बढाउनुपर्नेको आइस्पानका सदस्यहरु बताउँछन्।

त्यस्तै विद्युत् प्राधिकरणले चितवनमा इन्टरनेटको तार काट्दा हजारौँ ग्राहक समस्यामा परेको र अन्य क्षेत्रमा यस्तो समस्या नआओस् भनेर मूल्य बढाउने निष्कर्षमा आफूहरु पुगेको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए। एउटै पोलबाट धेरै ग्राहकलाई सेवा दिन सकिने भएकाले एक सय ५० रुपैयाँमात्रै बढाइएको र ग्रामीण क्षेत्रमा एक जना ग्राहकसम्म पुग्नकै लागि धेरै पोल प्रयोग गर्नुपर्ने भएकाले तीन सय रुपैयाँ बढाउने निर्णय भएको उनको भनाई छ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१७:३४

उपत्यकामा यसअघि जारी निषेधाज्ञा कायमै