दशैं अगाडी विद्यालय खोल्ने नखोल्ने विषयलाई लिएर उपत्यकाका विद्यालय अन्योलमा !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् ।

अभिभावक महासंघले दशैंअघि विद्यालय नखोल्न दबाब दिएपछि निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले असोज १ गतेबाट विद्यालय खोल्ने विषयमा ठोस निर्णय गर्न सकेका छैन । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विद्यालय खोल्ने विषय अन्योलमा परेको हो ।

धेरै दिन विद्यालय बन्द गर्दा धेरै विद्यालय बन्द हुने अवस्थामा पुग्ने धारणा राख्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भन्नुभयो– ‘लामो समयसम्म विद्यालय बन्द गर्दा विद्यार्थीलाई पनि समस्या पर्ने देखिएको छ ।’ उहाँले स्थानीय तहको समन्वयमा अधिकांश जिल्लाका विद्यालय खुल्ने थालेको बताउँदै अब उपत्यकाका विद्यालय खोल्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

ललितपुर महानगर शिक्षा समितिले विद्यालय खोल्ने अधिकार विद्यालय प्रशासनलाई सुम्पिएपछि अधिकांश विद्यालयले अभिभावकको रायअनुसार आइतबारबाट विद्यालय खोल्दै छन् । ललितपुरस्थित रेडियन्ट रिडर्स स्कुलका प्राचार्य ढिके ढुंगानाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अधिकांश विद्यालयका ठूला कक्षाहरू आइतबारबाट सञ्चालन हुनेछन् ।’ उहाँका अनुसार दशैं बिदापछि विद्यालय पूर्णरूपमा खुल्नेछ । उहाँले अब यो वा त्यो जिल्ला नभनी देशैभरका विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको पनि बताउनुभयो ।

काठमाडौं महानगरपालिका शिक्षा विभागको हिजो बिहीबार सम्पन्न बैठकले आज शुक्रबार महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने विषयमा मापदण्ड तयार गर्ने निर्णय गर्न सात सदस्यीय समिति गठन गरेको छ ।

सो समितिले आज मापदण्ड तयार गरेपछि सोही मापदण्ड लागू गराएर दशैंअगावै विद्यालय खोल्ने तयारी भइरहेको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालय खोल्ने विषयमा अलिखित निर्णय गरिसकेका छौं, मापदण्ड तयार गरेपछि थप निर्णय गर्नेछौं ।’

उहाँले काठमाडौंका विद्यालय खोल्ने विषयमा असोज ४ गते बस्ने बैठकले निर्णय गर्ने बताउनुभयो । कामपाले आफ्नै स्वास्थ्य मापदण्ड तयार गरी विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यालय सञ्चालन भएपछि कामपाले निरन्तर अनुगमन गर्नेछ ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८०६:५१

फिक्स डिपोजिटको ब्याजदर बढ्यो, कुन बैंकको कति ? [सूची सहित]