सेयर बजारमा किन गयो पहिरो ? यस्तो रहेछ कारण !

काठमाडौँ – बैंकहरूले व्याजदर वृद्धि गरेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । बैंकहरूले १ असोजबाट लागु हुने गरी निक्षेपको व्याजदर बढाएसँगै कर्जा महँगो हुने अनुमानबीच सेयर बजार प्रभावित भएको हो ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेसँगै ओरालो लाग्न थालेको बजार यो साता करिब ६३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आइतबार २८७५.९८ अंकमा रहेकोमा बिहीबार २८१२.३८ अंकमा झरेर यो साताको कारोबार बन्द भएको छ । यो साता आइतबार नेप्से ७१ अंकले बढे पनि मंगलबार, बुधबार र बिहीबार भने लगातार घट्यो । मंगलबार १८, बुधबार ४० अंकले घटेको नेप्से बिहीबार एकैदिन ७६ अंकले घटेको छ ।

बिहीबार अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर वृद्धि गरेको सूचना प्रकाशित गरेसँगै बजार प्रभावित बनेको हो । बिहीबार नेप्सेसँगै समूहगत परिसूचकहरू पनि ओरालो लागेका छन् । सबैभन्दा बढी फाइनान्स समूह ४.९४ प्रतिशतले घटेको छ ।

बजार घटे पनि बुधबारको तुलनामा बिहीबार कारोबार रकममा भने केही सुधार देखिएको छ । बिहीबार २२९ कम्पनीका एक करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा नौ अर्ब बराबरको कारोबार भएको छ भने बजार पुँजीकरण ३९ अर्ब ३५ करोडमा झरेको छ । बजारमा उतारचढाव आइरहेका बेला केही लगानीकर्ताले भने सेयर धितो कर्जाको सीमा खारेजीलगायतका माग राख्दै आन्दोलन गरिरहेका छन् ।

बैंकहरूले निक्षेपमा व्याज बढाए
निक्षेप संकलनको तुलनामा कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरूले निक्षेपको व्याजदर वृद्धि गर्न थालेका छन् । बजारमा लगानीयोग्य रकमको अभाव हुन थालेसँगै निक्षेप तान्नका लागि व्याजदर वृद्धि गरेका हुन् ।

बैंकहरूले शुक्रबारदेखि लागू हुनेगरी साधारण तथा मुद्दति निक्षेपको व्याजदर वृद्धि गरेको सूचना प्रकाशित गरेका छन् । बैंकहरूले मुद्दति निक्षेपको व्याजदर औसतमा नौ प्रतिशत र साधारण बचतको व्याजदर ४ प्रतिशतमा पुर्याएका छन् ।

प्रकाशित व्याजदरअनुसार सबैभन्दा बढी सनराइज बैंकले एक वर्षे मुद्दति निक्षेपमा १०.०७ प्रतिशत व्याजदर निर्धारण गरेको छ । यसैगरी प्राइम बैंकको ९.७६, एनएमबिको ९.५२, सानिमाको ९.५१ प्रतिशत रहेको छ ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८०७:१९

उपेन्द्र र माधवमै मत बाझियो, गठवन्धनमा समस्यै-समस्या !