एजेन्सी – बार्सिलोनाले म्यानचेस्टर सिटीका विंगर रहीम स्टर्लिङलाई भित्र्याउने प्रयास गर्ने भएको छ। विभिन्न संचार माध्यमहरुका अनुसार बार्सिलोनाले स्टर्लिङलाई भित्र्याउने प्रयास गर्ने भएको हो।
स्टर्लिङ माथि बार्सिलोनाको नजर रहेको र सम्भव भए आउने ट्रान्सफर विन्डोमै भित्र्याउने प्रयास गर्ने ट्रान्सफर बजारक जानकारीहरु बताउँछन्। जानकारीहरुका अनुसार बार्सिलोनाले स्टर्लिङलाई लोनमा भित्र्याउने प्रयास गर्नेछ।
स्टर्लिङ आफैं पनि सिटी छाड्ने मनस्थितमा रहेको बताइन्छ। पछिल्लो समय उनी सिटीको प्रमुख टोलीमा पर्न संघर्षरत छन्। सिटीको प्रथम रोजाईमा पर्न छाडेपछि स्टर्लिङ नयाँ क्लबको खोजिमा रहेका छन्। बताइएअनुसार सर्जियो अगुएरोसँग पुनः एक हुन स्टर्लिङ तयार छन्।
स्टर्लिङ र अगुएरोले सिटीमा लामो समय खेलका थिए। त्यसक्रममा दुई मिलेर सिटीलाई विभिन्न उपाधि मात्र दिलाएका थिएनन्, सिटीलाई अब्बल प्रिमियर लिग क्लबको रुपमा समेत उभ्याएका थिए।
लियोनेल मेस्सी र एन्टोइन् ग्रिज्म्यानले बार्सिलोना छाडेदेखि बार्सिलोनामा विंगरको कमी छ। खेलाडी घाइते हुने समस्याका कारण पनि बार्सिलोना चिन्तित छ। जसकारण उसले केहि खेलाडी भित्र्याएर स्क्वाडलाई बलियो बनाउन चाहेको छ।