काठमाडौँ – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटन संसदले मात्रै गर्न सक्ने बताएका छन्। शनिबार नयाँ बानेश्वरमा विधायन व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले संसद विघटन गर्ने अधिकार संसदसंग मात्र हुनुपर्ने बताएका हुन्।
‘विधायिकी खुलापन-लोकतन्त्र मेला’ नामक कार्यक्रममा बोल्दै सापकोटाले प्रतिनिधि सभाले मात्रै आफूलाई विघटन गर्नुपर्ने बताए। राष्ट्रको आवश्यकता र जनताको चाहना भएको खण्डमा विधिवत् रुपमा प्रतिनिधि सभामा प्रस्ताव पेश गरेर मात्र प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था हुनुपर्ने सापकोटाको भनाई छ।
उनले भने,”विघटनको सम्बन्धमा सुझाव आएको छ। प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सक्नुपर्छ। अथवा, प्रतिनिधि सभाले मात्रै गर्नुपर्छ। त्यो भयो भने सबैभन्दा लोकतान्त्रिक हुने छ। त्यो सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मान हुनेछ।”
त्यस्तै सापकोटाले संसदको कामबाट आफू समेत सन्तुष्ट हुन नसकेको पनि बताएका छन्। आफू सभामुख भएको दुई वर्ष पुग्न आँटेको भएपनि आफू संसदको कामबाट सन्तुष्ट हुन नसकेको उनले बताए।
“संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन। कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।”,उनले भने।