एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार फुटबलर लियोनल मेस्सीले आज राति होम डेब्यु गर्दैछन्। बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सीले आज राति पार्क डेस प्रिन्सेस स्टेडियममा पहिलो पटक खेल्नेछन्। पिएसजी र लियोन बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ३० मिनेटमा शुरु हुनेछ।
पिएसजीले घरेलु मैदानमा लियोनको सामना गर्दा पिएसजीका समर्थकको ध्यान मेस्सी माथि हुनेछ। पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोका अनुसार होम ग्राउण्डमा हुने डेब्युलाई लिएर मेस्सी आफैं पनि उत्साहित छन्।
“पिएसजीमा प्रशंसक सामुन्ने पार्क डेस प्रिन्सेस स्टेडियममा डेब्यु गर्न मेस्सी उत्साहित छन्। साथै मेस्सी धैर्य र शान्त पनि छन्।”,लियोनको सामना गर्नु अगाडी पत्रकारहरुसंग कुराकानी गर्दै पोचेटिनोले भने।
पोचेटिनोले मेस्सी मात्र नभई पूरा टीम नै लियोन विरुद्धको खेललाई लिएर उत्साहित रहेको बताए। उच्च स्तरको खेल प्रदर्शन गरेर खेललाई आफ्नो पक्षमा पार्ने आफूहरु सबैको योजना रहेको उनले सुनाए।
रामोसको अवस्था
पोचेटिनोले रामोसको विषयमा अहिले नै भन्न सक्ने अवस्था नरहेको बताए। रामोस कहिलेका लागि उपलब्ध हुन्छन् भन्ने विषयमा आफूलाई जानकारी नभएको उनको भनाई छ। पिएसजी डेब्युका लागि रामोस तयारी गरिरहेको पोचेटिनोले जानकारी गराए।
एम्बाप्पेको विषयमा बोल्दै पोचेटिनोले आफूहरु एम्बाप्पेको अवस्थालाई नियालिरहेको बताए। च्याम्पियन्स लिग अन्तर्गत ब्रुग बिरुद्ध दोस्रो हाफको शुरुमा मैदान छाड्न बाध्य एम्बाप्पेले सावधानी अपनाएर प्रशिक्षणमा सहभागी भइरहेको पोचेटिनोको भनाई छ।