रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार स्ट्राइकर इडेन हाजार्ड हाल घुँडाको चोटसँग संघर्ष गरिरहेको कारण उनले क्लबका लागि लगातार खेल खेल्न पनि नसक्ने खुलासा गरेका छन्। बुधबार च्याम्पियन्स लिग खेलमा एक मिनेट पनि खेल्न नपाएका हाजार्डको बारेमा इटालियन प्रशिक्षकले बोलेका हुन्।
शनिबार पत्रकार सम्मेलनमा बोल्दै एन्सेलोटीले भने,”उनले अन्तिम खेलमा खेलेनन् किनकि उनको घुँडामा सानो समस्या थियो, जसले उनलाई शुक्रबारको प्रशिक्षण सत्रमा पनि परेशान गर्यो। हाजार्डको बारेमा हामी सोच्छौं, उनीमा सामान्य सुधार भएको छ।”
बेल्जियन स्टारको चोट अहिले क्रमशः रूपमा सुधार हुँदै गएपनि पहिलो चोटका कारण भने हालसम्म पनि उनलाई लगातार दुई खेल खेलाउन अझै पनि कठिन हुने पूर्व एसी मिलान प्रशिक्षकले बताएका छन्। रियल म्याड्रिडको अर्को खेल आइतबार राति भ्यालेन्सिया विरुद्ध नेपाली समय अनुसार आज राति १२:४५ बाट सुरु हुनेछ।
लिगमा अपराजित रहेको लस ब्लान्कोसको ४ खेलमा १० अंक रहेको छ। रियल टेबलको दोस्रो स्थानमा रहेको छ। समान खेलबाट समान अंक रहेको भ्यालेन्सिया भने गोलअन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको साबिक विजेता एथलेटिको म्याड्रिडको ५ खेलबाट ११ अंक रहेको छ।