एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने म्यानचेस्टर सिटीको प्रयास सफल हुन सकेन। समर ट्रान्सफर विन्डोको अन्तिम समयमा रोनाल्डो भित्र्याउन सिटीले गरेको प्रयास म्यानचेस्टर युनाइटेडको इन्ट्रीसँगै सफल हुन पुग्यो।
रोनाल्डो भित्र्याउने प्रयास असफल भएपछि सिटीले बार्सिलोनाका खेलाडी भित्र्याउन प्रयास गरेको खुलासा भएको छ। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार रोनाल्डो भित्र्याउने प्रयास असफल भएपछि सिटीले बार्सिलोनाका अन्सु फातिलाई भित्र्याउने प्रयास गरेको थियो।
रोनाल्डो र फातिका एजेन्ट एकै हुन्। रोनाल्डो भित्र्याउने प्रयास असफल भएपछि सिटीले एजेन्ट जोर्गे मेन्डेजसंग छलफल गरेको अन्तराष्ट्रिय खेल मिडियाहरु दावी गर्छन्। सिटीले त्यसबेला फातिलाई भित्र्याउन सकिने, नसकिने विषयमा मेन्डेजलाई प्रश्न गरेको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले आफ्नो समाचारमा उल्लेख गरेको छ।
मुन्डो डिपोर्टिभोले दावी गरे अनुसार सिटीका प्रशिक्षक पेप गार्डियोलाले मेन्डेजलाई सिटीमा फाति ल्याण्ड गराउन सम्भव होला त भनेर प्रश्न गरेका थिए।
फाति बार्सिलोनामै रहन इच्छुक
सिटीले भित्र्याउन चासो राखेको भएपनि फाति बार्सिलोनामै केन्द्रित छन्। फाति र मेन्डेज बीच तत्कालका लागि नयाँ क्लब नखोज्ने भित्रि सहमति भएको बताइन्छ। क्लबले जर्सी नम्बर १० दिंदै फाति बार्सिलोनाको मुख्य खेलाडी हुने संकेत दिसकेको छ।