एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार फुटबलर लियोनल मेस्सीले आज राति होम डेब्यु गर्दैछन्। बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सीले आज राति पार्क डेस प्रिन्सेस स्टेडियममा पहिलो पटक खेल्नेछन्। पिएसजी र लियोन बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ३० मिनेटमा शुरु हुनेछ।
पिएसजीले घरेलु मैदानमा लियोनको सामना गर्दा पिएसजीका समर्थकको ध्यान मेस्सी माथि हुनेछ। पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोका अनुसार होम ग्राउण्डमा हुने डेब्युलाई लिएर मेस्सी आफैं पनि उत्साहित छन्।
“पिएसजीमा प्रशंसक सामुन्ने पार्क डेस प्रिन्सेस स्टेडियममा डेब्यु गर्न मेस्सी उत्साहित छन्। साथै मेस्सी धैर्य र शान्त पनि छन्।”,लियोनको सामना गर्नु अगाडी पत्रकारहरुसंग कुराकानी गर्दै पोचेटिनोले भने।
पोचेटिनोले मेस्सी मात्र नभई पूरा टीम नै लियोन विरुद्धको खेललाई लिएर उत्साहित रहेको बताए। उच्च स्तरको खेल प्रदर्शन गरेर खेललाई आफ्नो पक्षमा पार्ने आफूहरु सबैको योजना रहेको उनले सुनाए।
रोनाल्डो पनि याक्सनमा
प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामको सामना गर्दैछ। वेस्ट ह्यामको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ मा हुनेछ। ४ खेलबाट १० अंक जोडेको युनाइटेड टेबलको तेस्रो स्थानमा रहेको छ।
आजको खेलमा पुन: एकपटक क्रिस्टियानो रोनाल्डो आकर्षणको केन्द्र हुनेछन्। गत साता न्युकासल विरुद्धको खेलमा २ गोल गर्दै उत्कृष्ट डेब्यु पूरा गरेका ३६ वर्षीय स्ट्राइकरले आफ्नो लय निरन्तरता दिने प्रयासमा हुनेछन्।