एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा युनियन बर्लिनलाई सहजै पराजित गरेको छ ।
घरेलु मैदानमा डर्टमुन्डले युनियन बर्लिनलाई ४–२ ले पराजित गरेको हो । डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा राफयल गुरेइरोले एक गोल थपे । एक गोल उपहार पाएको थियो । युनियन बर्लिनका म्याक्स क्रुस र एन्ड्रिएस भोगल्समेरले गोल फर्काए ।
सिग्नल इडुना पार्कमा आइतबार राति भएको खेलको १०औं मिनेटमा राफयल गुरेइरोको गोलबाट डर्टमुन्डले खेलमा अग्रत लिएको थियो । २४औं मिनेटमा हालान्डले थोमस म्युनिएरको पासमा गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।
५२औं मिनेटमा मार्भिन फ्रेडरिचले आत्मघाती गोल गरेपछि डर्टमुन्ड सहज जिततर्फ अग्रसर बन्यो । ५७औं मिनेटमा म्याक्स क्रुसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
८१औं मिनेटमा एन्ड्रिएसले निको गिसेलमानको पासमा गोल गर्दै युनियन बर्लिनलाई खेलमा फर्कने संकेत दिदै खेललाई ३–२ को अवस्थामा ल्याए । तर त्यसको एक मिनेटपछि नै हालान्डले म्याट हमेल्सको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गाल गर्दै टोलीको जित पक्का गरे ।
यो जितसँगै डर्टमुन्ड ५ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित युनियन बर्लिन ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । शीर्ष दुईमा रहेका बायर्न र वल्फ्सवर्गको समान १३ अंक छ ।