एजेन्सी –आइतबार साझँ भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि पूनरागमन जित निकालेको छ।
लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले गोल गरेपछि युनाइटेडले २–१ को पूनरागमन जित निकालेको हो । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो। युनाइटेड फर्किएपछि पूर्व रियल म्याड्रिड स्ट्राइकर रोनाल्डोले निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
सेप्टेम्बर ११ मा न्युकासल विरुद्धको खेलबाट प्रिमियर लिग डेब्यु गरेका रोनाल्डोले आफ्नो डेब्यु खेलमा नै २ गोल गर्न सफल भएका थिए। रोनाल्डो हिरो बनेको उक्त खेलमा युनाइटेड ४-१ गोलले विजयी भएको थियो। त्यस्तै, मंगलबार स्विस क्लब योंग बोइज विरुद्ध क्लबका लागि च्याम्पियन्स लिग डेब्यु गरेका रोनाल्डोले गोल गर्न सफल भएका थिए। रोनाल्डोको गोलका बाबजुद युनाइटेड २-१ ले पराजित हुन पुग्यो।
पहिलो दुई खेलमा शानदार प्रदर्शन गरेका रोनाल्डोले आइतबार वेस्टह्याम विरुद्ध तेस्रो खेल खेलेका थिए। जसमा १-० ले पछाडी परेको स्थितिमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ३६ वर्षीय स्ट्राइकरले रेड डेभिलका ३ खेलमा ४ गोल गरिसकेका छन्।
उता रोनाल्डोका प्रतिद्वन्दी मेस्सीले भने नयाँ क्लबमा सुखद सुरुवात गर्न सकेका छैनन्। ३४ वर्षीय स्ट्राइकरले पनि फ्रेन्च क्लबका लागि ३ खेल खेलिसकेका छन्। तर उनले अहिलेसम्म गोल भने गर्न सकेका छैनन्। ३० अगस्टमा रेइम्स विरुद्ध ६५ औं मिनेटमा मैदान प्रवेश गर्दै पीएसजीका लागि लिग १ डेब्यु गरेका मेस्सीले खासै प्रभाव पार्न सकेनन्।
त्यस्तै, गत बुधबार बेल्जियन क्लब क्लब ब्रुज विरुद्ध च्याम्पियन्स लिग डेब्यु गरेका मेस्सीले उक्त खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेनन्। पीएसजी उक्त खेलमा १-१ को बराबरीमा रोकिएको थियो। आइतबार राति लियोन विरुद्ध भएको खेलमा ६ पटकका ब्यालोन डी ओर विजेताले घरेलु मैदानमा पहिलो पटक खेलेका थिए। जसमा उनले केहि सुधारिएको प्रदर्शन गरेपनि गोल भने गर्न सकेनन्। नेयमर र माउरो इकार्डीले गोल गरेको खेलमा पीएसजी २-१ ले विजयी भयो।