पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक मौरिसियो पोचेटिनोले चोटको चिन्तालाई ध्यानमा राख्दै ओलम्पिक लियोनमाथि २-१ को जित हात पारेको खेलको दोस्रो हाफमा लियोनल मेस्सीलाई प्रतिस्थापन गरेको बताएका छन्।
लिग १ खेलमा होम डेब्यु गरेका मेस्सीलाई खेलको ७५ औं मिनेटमा खेल १-१ को बराबरीमा चलिरहँदा प्रशिक्षक पोचेटिनोले मैदान बाहिर निकालेका थिए। उनको स्थानमा डिफेन्डर एकराफ हाकिमी मैदानमा प्रवेश गरेका थिए। जसपछि मेस्सी निकै असन्तुष्ट देखिएका थिए। प्रशिक्षकको निर्णयबाट असन्तुष्ट देखिएका मेस्सीले पोचेटिनोसँग हात मिलाउन सम्म अस्वीकार गरेका थिए।
खेल १-१ को बराबरीमा रहेको स्थितिमा मेस्सीलाई निकाल्ने प्रशिक्षकको निर्णयले क्लबका समर्थक पनि खुसी थिएनन्। अन्ततः खेलको अन्तिम समयमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ को जीत दिलाए। खेलपछि बोल्दै अर्जेन्टिनी प्रशिक्षकले आउँदो खेलहरुलाई मध्यनजर गर्दै मेस्सीलाई प्रतिथापन गर्ने निर्णय गरेको बताएका छन्। आउने दिनमा महत्वपूर्ण खेलहरु रहेको कारण आफ्नो टोलीको प्रमुख खेलाडीलाई सम्भावित चोटबाट बचाउनका लागि आफूले उक्त निर्णय लिएको पोचेटिनोले स्पष्ट पारेका हुन्।
यसबारे बोल्दै उनले भने,”हामीले मेस्सीलाई सम्भावित चोटबाट बचाउन प्रतिस्थापन गर्ने निर्णय गरेका हौँ। आउँदो दिनमा निकै महत्वपूर्ण खेलहरु छन्, त्यसैले हामीले उनको ध्यान राख्नु पर्छ। यो निर्णय क्लबको राम्रोको लागि थियो। हामीसँग थुप्रै उत्कृष्ट खेलाडी छन्। हामीले यस्ता निर्णय लिनुपर्ने हुन्छ।”
मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियोका साथै एन्गल डी मारियाको आक्रमण पङ्क्तिलाई मैदानमा उतारेको पीएसजीले हालसम्म खेलेका ६ खेल मध्ये सबै खेल जित्दै १८ अंकका साथ टेबलको शीर्ष स्थानमा रहेको छ।