पीएसजी प्रशिक्षक मौरिसियो पोचेटिनोले बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सी र आफू बिचमा कुनै समस्या नरहेको बताएका छन्।
गयराती पीएसजी विरुद्ध लियोनको लिग १ खेलमा खेलको ७५ औं मिनेटमा प्रतिस्थापित भएपछि स्टार खेलाडी लियोनल मेस्सीले प्रशिक्षक मौरीसियो पोचेटिनोसँग हात मिलाउन अस्वीकार गरेका थिए। खेल सकिन १५ मिनेट अगाडी प्रतिस्थापित भएका मेस्सीले पोचेटिनोले हात मिलाउन गरेको प्रयासलाई बेवास्ता गरेका थिए।
आक्रमण रणनीतिका साथ मैदानमा उत्रिएको पीएसजीले पहिलो हाफमा कुनै गोल गर्न सकेन। दोस्रो हाफको नवौं मिनेटमा नै लियोनका लुकास पाकेटाले गोल गर्दै आफ्नो टोलीका लागि अग्रता दिलाए। जसपछि खेलको ६६ औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा लेराए। जसपछि खेलको अन्तिम समयमा माउरो इकार्डीले पीएसजीका लागि विजयी गोल गरे।
खेल १-१ को बरबरीको स्थितिमा रहेको समयमा प्रशिक्षकले मेस्सीको स्थानमा डिफेन्डर एकारफ हाकिमीलाई मैदानमा प्रवेश गराएका थिए। जसपछि प्रतिस्थापित भएका मेस्सीसँग हात मिलाउन प्रयास गरेका पोचेटिनोलाई मेस्सीले बेवास्ता गरेका थिए। मैदान छाडेर बेन्चमा हुँदा प्रष्ट देख्न सकिन्च्थ्यो कि मेस्सी खुसी छैनन्।
खेलपछि बोल्दै प्रशिक्षक पोचेटिनोले चोटको चिन्तालाई ध्यानमा राख्दै खेलको दोस्रो हाफमा लियोनल मेस्सीलाई प्रतिस्थापन गरेको बताएका छन्। यसबारे बोल्दै उनले भने,”हामीले मेस्सीलाई सम्भावित चोटबाट बचाउन प्रतिस्थापन गर्ने निर्णय गरेका हौँ। आउँदो दिनमा निकै महत्वपूर्ण खेलहरु छन्, त्यसैले हामीले उनको ध्यान राख्नु पर्छ। यो निर्णय क्लबको राम्रोको लागि थियो। हामीसँग थुप्रै उत्कृष्ट खेलाडी छन्। हामीले यस्ता निर्णय लिनुपर्ने हुन्छ।”
मेस्सीसँगको गार्मा-गर्मी बारे बोल्दै उनले भने,”मेस्सीलाई निराश देखेपछि मैले उनलाई उनको अवस्थाको बारेमा सोधेको थिएँ। उनले आफू मेरो निर्णयसँग समहत रहेको बताए।” प्रशिक्षक पोचेटिनोले आफू र मेस्सी बीच कुनै मदभेद नभएको पनि स्पष्ट पारेका छन्।