काठमाडौं । अन्तरिम संविधानअनुसारको व्यवस्थापिका संसदको बैठकमा सभामुखको आसनबाट सुवास नेम्वाङ भन्थे– माननीय सदस्य ! किन उठ्नुभएको ? बस्नुस् । आसनबाट उठेका सदस्य नबसेपछि नेम्वाङ सोध्थे– तपाईंको कुरा के हो माननीय सदस्य ? माननीय सदस्य आफ्नो कुरा भन्थे, जवाफ माग्थे । चित्त बुझेन भनेर आसनबाट उठिरहेको अवस्थामा सभामुख नेम्वाङ भन्थे– माननीय सदस्य ! तपाईं यसरी आसनबाट उठेपछि बैठक अवरुद्ध भएको ठहर्छ, एक जनामात्रै उठे पनि बैठक अघि बढाउन मिल्दैन, बस्नुस् माननीय सदस्य ! यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
सभामुखको आसनबाट नेम्वाङ अनुकूल आदेश, निर्देश आदि जारी गर्थे अनि बैठक अघि बढ्थ्यो । त्यो समय त्यस्तो थियो, एक जनामात्रै सदस्य आसनबाट उठे पनि सभामुख नेम्वाङ बैठक अवरुद्ध भएको मान्थे । समय एउटै रहेन । उनै सभामुख नेम्वाङले आफैँले भन्ने गरेको ‘अवरोध’ का बीच व्यवस्थापिका संददको बैठक चलाउन थाले । अनि, संविधानसभाको अध्यक्षको आसनबाट संविधान पारित गराए, जारी गराए ।
हुँदाहुँदा उनै नेम्वाङले नाराबाजी पनि बास्ता गर्न छाडेका थिए । अब त परम्परा नै भयो, नाराबाजी चलिरहन्छ, प्रस्ताव पेश भइरहन्छ, छलफल चलिरहन्छ र प्रस्ताव पारित भइरहन्छ । अर्थात संसदमा प्रचलित नेपाली उखानझैँ काग कराइरहन्छ, पिना सुकिरहन्छ । यो नयाँ मान्यता स्थापित भएको छ ।
विनियोजन विधेयक, २०७८ यसै गरी पारित भयो, काग कराइरह्यो, पिना सुकिरह्यो । यसअघि लोकसेवा आयोसम्बन्धी विधेयक पनि नाराबाजीकै बीच स्वीकृत भएको घोषणा भएको थियो । कृष्णबहादुर महरा सभामुख रहँदा पनि विनियोजन विधेयक, २०७६ (बजेट); आर्थिक विधेयक, २०७६ र राष्ट्र ऋण उठाउने विधेयक, २०७६ विपक्षी दलहरू नेपाली कांग्रेस र राजपाको नाराबाजीका बीच पारित गराइएका थिए । त्यसअघि उनै महराले कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पनि पारित गराइएका थिए ।
उपर्युक्त घटना केही दृष्टान्त मात्र हुन् । यति बेला सभामुख अग्निप्रसाद सापकोटाप्रति असहिष्णु देखिएको विपक्षी दल नेकपा एमालेको नाराबाजीका कारण संघीय संसद, खास गरी प्रतिनिधिसभा, औपचारिकताको थलो बनेको छ । विपक्षी दल नाराबाजी गरिरहेको छ, सभामुख बैठक चलाइरहेका छन् । गत भदौ २३ गते यता प्रतिनिधिसभाका सबै बैठकमा विपक्षी दल एमालेले नाराबाजी गरेको छ । नाराबाजीकै बीच विनियोजन अध्यादेश, २०७८ प्रतिस्थापन गर्ने विधेयक पेश भयो; विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा ‘छलफल’ भयो र प्रस्ताव ‘स्वीकृत’ भयो ।