बार्सिलोनामा हुँदा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको स्थानलाई कसैले छुन पनि सक्दैनथ्यो। तर लियोन विरुद्धको खेलमा पीएसजी प्रशिक्षक माउरीसियो पोचेटिनोले प्रतिस्थापित गरेपछि पेरिसमा पनि मेस्सीको उस्तै स्थिति रहन्छ भन्ने कुरामा प्रश्न उठेको छ।
यदि लियोनल मेस्सीले बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनमा आफ्नो सरुवा निर्बाध हुन्छ भन्ने सोचेका थिए भने उनले छिट्टै महशुस गर्नेछन् कि फ्रान्सेली राजधानीमा जीवन क्याम्प नाउमा भन्दा धेरै फरक हुनेछ। मेस्सीलाई बार्सामा बोस बन्ने बानी परिसकेको थियो। क्लबमा २० वर्ष भन्दा बढी, क्लबका सार्वाधिक गोलकर्ता, ६ ब्यालुन डी ओर उपाधि र अन्य थुप्रै सफलताले उनलाई बार्सिलोनामा कसैले छुन पनि सक्दैनथे। गत केहि वर्षमा उनी आफ्नो खेलको शिखरमा रहँदा पनि क्लबमा उनको स्थिति उस्तै रहेको थियो।
फ्रेन्च क्लबमा भने अब त्यति सजिलो हुने छैन। आइतबार लियोन विरुद्धको खेलमा त्यो प्रष्ट भयो। लियोन विरुद्धको खेलमा पीएसजीले ६६ औं मिनेटमा पेनाल्टीको अवसर पायो। जसपछि सारा फुटबल जगतको ध्यान उक्त पेनाल्टी कसले प्रहार गर्छ भन्ने थियो। तर त्यसको उत्तर सहज थियो, नेयमारले उक्त पेनाल्टी प्रहार गरे र गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउन समेत सफल भए।
त्यो नै पहिलो संकेत थियो कि नयाँ क्लबमा मेस्सीको दर्जा बार्सिलोनाको जस्तो हुने छैन। दोस्रो संकेत त्यसको १० मिनेट भित्र नै आयो जब प्रशिक्षक पोचेटिनोले खेलको ७५ औं मिनेटमा मेस्सीको स्थानमा एकारफ हाकिमीलाई मैदानमा प्रवेश गराए। यस्तोमा मेस्सी पोचेटिनोको निर्णयसँग असन्तुष्ट देखिए। तर सायद उनले पनि महसुस गरेको हुनुपर्छ कि पीएसजीमा उनको स्थान बार्सिलोनामा जस्तो हुने छैन।