लियोनल मेस्सीले बुधबार पेरिस सेन्ट जर्मेन (पिएसजी) र मेट्ज बीचको खेल बायाँ घुँडामा लागेको चोटका कारण गुमाउने भएका छन्। पीएसजीले आफ्नो आधिकारिक वेबसाइटबाट नै यसको पुष्टि गरेको छ।
पीएसजीले आफ्नो आधिकारिक वेबसाइटमा मेस्सीको एमआरआई स्क्यान गर्दा उनको बायाँ खुट्टाको हड्डीमा समस्या रहेको खुलासा गरेको हो। मेस्सीको फिटनेसको बारेमा अर्को अपडेट आगामी ४८ घण्टामा आउने पनि बताइएको छ। मेट्ज विरुद्धको खेलपछि पीएसजीले आउँदो मंगलबार च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्नु अघि लिग १ खेलमा मोन्टपेलियरसँग घरेलु मैदानमा खेल्नेछ।
यहि सिजन बार्सिलोनाबाट पीएसजीसँग आवद्ध भएका मेस्सीले फ्रान्समा राम्रो सुरुवात गर्न सकेका छैनन्। उनले पीएसजीका लागि ३ खेलमा कुनै गोल गर्न सकेका छैनन्। उनले उक्त ३ खेल मध्ये एक खेल मात्र पूरा ९० मिनेट खेलेका छन्। आइतबार मात्र लियोन विरुद्धको खेलमा खेलको ७५ औं मिनेटमा मेस्सीलाई प्रतिस्थापित गरेर प्रशिक्षक पोचेटिनोले सबैलाई चकित पारेका थिए।
खेलपछि बोल्दै अर्जेन्टिनी प्रशिक्षकले मेस्सीलाई सम्भावित चोटबाट बचाउन आफूले मेस्सीलाई प्रतिस्थापन गर्ने निर्णय लिएको स्पष्ट पारेका थिए। मेस्सीको चोट बारे थप जानकारी आउन बाँकी रहेको छ।