१९ वटा अपहरणका खुँखार अपराधीलाई माफीमिनाहा !

काठमाडौं । सरकारले अपहरण र हत्याजस्ता खुँखार अपराधमा दोषी किटान भएकालाई जेलमुक्त गरिदिएको छ । संविधान दिवसको अवसरमा सरकारले ५ सय २२ जना कैदीबन्दीलाई माफी मिनाहा गरेको थियो । शृंखलाबद्ध अपहरण गरेर फिरौती असुल्ने प्रह्लाद महत र विष्णु जिसी माफी मिनाहा पाएर छुटिसकेका छन् । सर्लाहीका प्रल्हाद रामेछाप कारागारबाट जेलमुक्त भएका हुन् भने जिसी रुपन्देही कारागाबाट मुक्त भएका हुन् । सजाय मिनाहा हुने सरकारको निर्णयपछि उनीहरू छुटेको रामेछाप कारागारका जेलर रामकृष्ण घिमिरे र रुपन्देही कारागारका प्रमुख नारायण पन्थीले पुष्टि गरे । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

‘उनीहरूलाई कानुनले दिएको मापदण्डअनुसार नै छोडिएको हो,’ घिमिरेले भने, ‘चालचलन सुध्रिएपछि कैद छुटको फारम भराएर माथि पठाएका हौँ । सोहीअनुसार निर्णय भई आएपछि महत छुटेका हुन् ।’ महत र जिसी संविधान दिवसकै दिन कारागारमुक्त भएका हुन् ।
महत र जिसी काठमाडौंको बालाजुस्थित भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण मुद्दामा २०६५ मा जेल परेका थिए । उनीहरूलाई जिल्ला अदालत काठमाडौंले २० वर्ष कैद सजाय सुनाएको थियो । तर, १३ वर्ष कैद सजाय मात्रै भुक्तान गरेर निस्किएका छन् ।
उनीहरूमाथि प्रहरीले ज्यान मार्ने उद्योग, शरीर बन्धक, फिरौतीसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

१ पुस २०६५ मा रावल अपहृत भएका थिए । रावललाई महत र जिसीसहित चार÷पाँच जनाको समूहले मुखमा पट्टी बाँधेर दिउँसै निजी गाडीमा हालेर लगेका थिए । त्यसपछि रावल महतसहित जीसी समूहलाई १ करोड ५० लाख फिरौती रकम बुझाएर सकुशल फर्किएका थिए । रावललाई अपहरण गर्न प्रयोग गरिएको गाडी प्रहरीले कान्ति बाल अस्पतालको पार्किङभित्र फेला पारेको थियो ।

२०५९ सालतिर महतसहित भारतीय नागरिक उदय सेट्टी, अमर टण्डनहरू मिलेर संयुक्त रूपमा अपहरण तथा शरीर बन्धक गरी फिरौती असुल्ने धन्दा नै चलाएका थिए । अपहरण तथा शरीर बन्धक गरी फिरौती असुलीको घटनामा प्रहरीको खोजी सूचीमा रहेका टण्डन पक्राउ परेपछि महत र जिसीको संलग्नता खुलेको थियो । गाडी चालक पनि पक्राउ परेका थिए । टण्डनले जेलभित्रैबाट समेत महत र जिसीको टोलीलाई परिचालन गरेर अपहरण तथा फिरौती असुल गरेका थिए । यद्यपि रावल अपहरणमा भने उनीहरूले काठमाडौंको सामाखुसीका अर्का व्यवसायी निरज कक्षपतीलाई समेत अपहरण गरी १ करोड ५० लाख रुपैयाँ फिरौती असुलेका थिए ।

प्रकाशित : बुधबार, असोज ०६, २०७८०८:४२

यी हुन् विश्वकै ज्येष्ठ जुम्ल्याहा, उमेर कति ? हेर्नुहोस् !