काठमाडौं : कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।
‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ। भारतबाट संक्रमित चमेरो फलफूल खान नेपालको तराई क्षेत्रमा आउन सक्छ’, सहप्रवक्ता डा. अधिकारीले भने। फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ। डा. अधिकारीका अनुसार निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा उच्च छ। जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ।
भारतको दक्षिणी राज्य केरलामा एक नर्ससहित १० जनाको ज्यान गइसकेको त्यहाँका स्वास्थ्यसचिव राजीव सदानन्दनले बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या १२ पुगेको छ।
उक्त चमेरो नेपालमा पनि पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। ‘काठमाडौं उपत्यकालगायत अन्य स्थानमा संक्रमण गराउन सक्ने चमेरो रहेको पुष्टि भएको छ। संक्रमण गराइसकेको पुष्टि भएको छैन’, डा. अधिकारीले भने, ‘यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ।’
त्रिभुवन विश्वविद्यालय, पोखरा तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रूपमा गरेको अध्ययनले उक्त चमेरो नेपालमा रहेको देखाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बताए। भने, ‘कोरोनाको चिन्ता नसकिँदै निपाह भाइरसको जोखिम छ। सँुगुरलगायत पशु पाल्ने किसान बढी सजग हुनुपर्छ।’ यसले दक्षिण एसियाली मुलुकमध्ये भारत र बंगलादेशमा हरेक वर्ष सताउने गरेको छ। छिमेकमा देखापर्ने स्वास्थ्य समस्या केही महिनापछि नेपाल भित्रिने गरेको छ। मन्त्रालयले संक्रमणको लक्षण देखिए उपचार गराउन आग्रह गरेको छ।