सल्लाह नगरी मन्त्री थपेर शपथ खुवाउने भन्दै रामचन्द्र जंगिए, देउवाले दिए यस्तो जवाफ !

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्यो । मन्त्रिपरिषद् विस्तार र महाधिवेशनका विषयमा बढ्दो अन्तरकलहका बीच सो बैठक निकै चासोको विषय थियो । देशभरका कांग्रेस कार्यकर्ता स्थानीय तहको अधिवेशन हुन्छ वा हुँदैन भन्ने निर्णय पर्खिरहेका थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा पार्टीभित्र सल्लाह नगरेको विषय संस्थापन इतर समूहले जोडका साथ उठाउने तयारी गरेको थियो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

सिंहदरबारको बैठकअघि महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको बैठकमा संस्थापन इतर समूहका नेताहरुले सभापति देउवा एकलौटी ढंगले अघि बढेको भन्दै कडा प्रतिवाद गर्नुपर्ने ठहर गरेका थिए । सोही अनुसार पदाधिकारी बैठकमा धारणा राख्नै वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले पाउने मन्त्रीको संख्या कति हो ? भनी देउवालाई प्रश्न गरेका थिए । ‘कांग्रेसले कति मन्त्री पाउने हो ? हाम्रोतर्फबाट कतिजना मन्त्री बनाउने हो ? हामीसंग सल्लाह नगरी एक–एक जनालाई शपथ खुवाउने, के तरिका हो ?, देउवासंग पौडेलको प्रश्न थियो ।

कांग्रेस नेतृत्वमा सरकार बनेपनि सरकारका महत्वपूर्ण निर्णयबारे पार्टीभित्र छलफल नभएकोमा पौडेलले आपत्ति जनाएका थिए । पौडेलले जवाफ खोजेपछि सभापति एवं प्रधानमन्त्री देउवाले ‘सबैका अगाडि आफूलाई बोल्न बाध्य नपार्न’ आग्रह गरे । देउवाले गठबन्धनमा मन्त्रालय बाँडफाँट र संख्याको टुंगो नलागेको तर अत्यावश्यक भएकोले परराष्ट्रमन्त्री नियुक्त गरेको जवाफ दिए । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालालाई इंगित गर्दै देउवाले ‘संख्या टुंगेपछि सल्लाह गरिहाल्छु नि’ भन्ने जवाफ दिए । ‘मलाई सबैको अगाडि बोल्न बाध्य नपार्नुस् । तपाईं र शशांकसंग जे कुरा भएको छ म त्यो गरिहाल्छु । तपाईंहरुले दिएको नाम मसंग छदैछ’, देउवाले भने । देउवाको जवाफपछि बैठकको प्रसंग पार्टीको आन्तरिक विषयमा मोडियो । प्रधानमन्त्री देउवा ‘गठबन्धनको बैठक छ’ भन्दै बाहिरिए । त्यसअघि उनले अधिवेशनबारे उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतसंगको छलफलबाट जे निष्कर्ष निस्केपनि आफूले मान्ने बताएका थिए ।

देउवा बाहिरिएपछि नेताहरुबीच वडा अधिवेशन भइसकेका जिल्लामा पूर्व निर्धारित मितिमै पालिका अधिवेशन गर्ने, वडा अधिवेशन हुन बाँकी जिल्लाको क्रियाशील सदस्यता तत्काल टुंग्याएर वडा र पालिका अधिवेशन गर्ने तथा दसै अघिका अन्य अधिवेशन कार्यतालिका संशोधन गर्नेबारे निर्वाचन समितिमार्फत निर्णय लिने सहमति भयो । बैठकमा अनौपचारिक ढंगले एनआरएन अधिवेशनबारे पनि छलफल भएको थियो । एनआरएनको आसन्न महाधिवेशनमा कुल आचार्य नेतृत्वको प्यानललाई समर्थन गर्ने अनौपचारिक निर्णय भएको बैठकमा सहभागि एक नेताले बताए ।

प्रकाशित : बिहिबार, असोज ०७, २०७८०८:२५

“माधव नेपाल र प्रचण्डले माक्र्सवाद, लेनिनवाद होइन शेरबहादुरवाद मानिरहेका छन्”