काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाका दुबैले प्रतिपक्षको अवरोधका बिच संसदका गतिविधि अगाडि बढाएका छन् । तर प्रतिपक्षको व्यवहार भने यी दुईप्रति विभेदपूर्ण छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई राष्ट्रियसभाले बहुमतद्वारा स्वीकृत गर्यो । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको मंगलबारको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए । अर्थमन्त्री शर्माले यो प्रस्ताव पेश गर्दा प्रतिनिधिसमाभा जस्तो म्याराथुन दौडको कला पनि देखाउनु परेन । प्रतिपक्षी सांसदले उठेर विरोध त जनाए तर धक्का मुक्का भएन । विरोधका बिच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक अघि बढाए, प्रस्ताव वहुमतले स्वीकृत गर्यो ।
यही विधेयक स्वीकृत गर्ने काम केही दिन अघि प्रतिनिधिसभाले पनि गर्यो । त्यतिबेलाको प्रतिनिधिसभाको दृष्य भने बडो रोचक थियो । अर्थमन्त्री शर्माको म्याराथुन दौड मात्रै होइन प्रमुख प्रतिपक्षी सांसदहरुको चर्तिकला पनि हेर्न लायक थियो । केही सांसदहरु सहकर्मीको काँधमा काँध मिलाएर होइन काँधमा गोडा चढाएर रोष्ट्रम पुगेर अर्थमन्त्रीको कठालो समात्ने ध्याउन्नमा थिए । एक जना महिला सांसदले त माइक झिकेर सभामुखको टाउको फुटाउने उद्घोष गरेकी थिइन । प्रतिनिधिसभाको स्थिति कति तनावपूर्ण थियो भने पुरुष सांसदको काध चढेर रोष्ट्रमा पुग्न खोज्ने एक जना महिला सांसदको जिउमा दख्खल परेर हो कि अन्य कारण हो अहिले अस्पताल भर्ना भएकी छन् ।
स्वभाविक रुपमा प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभा परिपक्वहरुको सदन हो । सोही मुताविक प्रतिनिधिसभाको तहको हुलहुज्जत सोभनीय हुदैन । तर परिणामको हिसाबले हेर्दा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाका काम कारवाही एकै खाले छन् । दुबैले प्रतिपक्षको अवरोधका बिच संसदका गतिविधि अगाडि बढाएका छन् । सभ्य संसदीय अभ्यासमा यसलाई कसरी लिइएला त्यो अलग विषय हो तर अध्यक्ष र सभामुखको उस्तै गतिविधि भएपनि प्रतिपक्षको व्यवहार भने विभेदपूर्ण छ ।