कस्तो होला पारस खड्का र ज्ञानेन्द्र मल्ल बिनाको इपिएल ?

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले शनिवारबाट सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । साविक विजेता ललितपुर प्याट्रियट्र्सका कप्तान समेत ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने जनाकारी दिएका छन् ।

ललितपुरले बिहिबार एक प्रेस विज्ञप्ति मार्फत ज्ञानेन्द्रले इपिएल नखेल्ने जनाएको छ । ज्ञानेन्द्रले ललितपुरका सिइओ निरज कोइरलालाई इमेल मार्फत आफूले खेल्न नसक्ने जानकारी दिएका छन् । ज्ञानेन्द्रले नखेल्ने भएपछि ललितपुर ठूलो समस्यामा परेको छ । स्वदेशी सबै युवा खेलाडी हुँदा नेतृत्व कस्ले गर्ने अन्यौल बढेको छ । ललितपुरको कप्तानी विदेशी खेलाडीले गर्ने सम्भावना बढेको छ ।

यसअघि विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरीले पनि इपिएल खेल्ने छैनन् । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस र वसन्तले ब्यक्तिगत कारण नखेल्ने जनाएका छन् । स्वदेशी खेलाडीमा कुशल भुर्तेल र पवन सरार्फ कप्तानी गर्न सक्ने सम्भावित खेलाडी हुन् । विदेशी खेलाडीमा सन्दुन र ओशदा सम्भावना उच्च छ । ललितपुरका कुनैपनि स्वदेशी खेलाडीले हालसम्म कप्तानी गरेका छैनन् ।

ललितपुरले विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो रहेका छन् । सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।

इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । ललितपुरले २०१८ को फाइनलमा भैरहवा ग्ल्याडियसटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो । ललितपुरले उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।

प्रकाशित : बिहिबार, असोज ०७, २०७८१७:१९

पेप ग्वार्डिओला बार्सिलोना फर्किने ?