एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लगातार कम्जोर प्रदर्शन गरिरहेको छ। बिहिबार राति क्याडिज विरुद्धको खेलमा अनि बार्सिलोनाले सोचेजस्तो खेल्न सकेन। तुलनात्मक रुपमा कम्जोर क्याडिजको डिफेन्सलाई बार्सिलोनाका स्ट्राइकरले तोड्न सकेन। फलतः पुन एक पक्का स्ट्राइकरको आवश्यकता बार्सिलोनामा खड्कियो।
क्याडिज विरुद्धको खेलमा बार्सिलोनाले बल पोसेसन्मा राम्रो पकड बनाएको भएपनि गोल गर्न नसक्नु नै बार्सिलोना बराबरीमा रोकिनुको कारण बन्न पुग्यो। साथै उक्त खेलमा खेलाडीहरुले कार्ड समेत पाए। फ्रान्की डि जोङले पाएको दोहोरो कार्ड सहित ४ पहेंलो कार्ड बार्सिलोनाको नाममा गयो।
क्याडिज विरुद्ध बराबरी खेलेसँगै बार्सिलोना शिर्ष चारमा उक्लिनबाट बन्चित भएको छ। बार्सिलोनाले अहिले सम्म ५ खेल खेलेको छ। जसमा २ खेलमा मात्र बार्सिलोनाले जित निकालेको छ। कुनै खेलमा पराजित नभएपनि बाँकी तीन खेलमा भने बार्सिलोना बराबरीमा रोकिएको छ।
क्याडिज विरुद्धको खेलमा बार्सिलोनाको स्तरलाई लिएर स्पेनमा चर्को आलोचना भएको छ। क्याडिज विरुद्धको खेलपछि स्पेनिस मिडियाले बार्सिलोना मजाक भएको भनेर टिप्पणी गरेका छन्।
“यो बार्सिलोना एक मजाक हो,”,मार्काले आफ्नो समाचारको शिर्षकमा लेखेको छ। स्पेनिस मिडियाहरुले यति धेरै कम्जोर बार्सिलोना आफूहरुले कहिल्यै नदेखेको भनेर पनि टिप्पणी गरेका छन्।
कोम्यान बर्खास्त हुने चर्चा
लगातार बार्सिलोनाको कम्जोर प्रदर्शन पछि प्रशिक्षक कोम्यान बर्खास्त हुने चर्चा चलिरहेको छ। नयाँ प्रशिक्षक फेला पर्ने बितिकै कोम्यान बर्खास्त हुने उच्च सम्भावना छ।