लियोनल मेस्सीले शनिबार हुने पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोन्टपेलियर बीचको खेल बायाँ घुँडामा लागेको चोटका कारण गुमाउने भएका छन्। उनले बुधबार मेट्ज विरुद्धको खेल पनि गुमाएका थिए।
मंगलबार पीएसजीले आफ्नो आधिकारिक वेबसाइटबाट नै यसको पुष्टि गरेको थियो। गत आइतबार लियोन विरुद्धको खेलमा मेस्सीलाई प्रशिक्षक माउरीसियो पोचेटिनोले खेलको ७५ औं मिनेटमा प्रतिस्थापित गरेका थिए। जसपछि मेस्सी प्रशिक्षकको यस्तो निर्णयबाट असन्तुष्ट देखिन्थे। यसअघि पीएसजीले आफ्नो आधिकारिक वेबसाइटमा मेस्सीको एमआरआई स्क्यान गर्दा उनको बायाँ खुट्टाको हड्डीमा समस्या रहेको खुलासा गरेको थियो।
मोन्टपेलियर विरुद्धको खेलपछि पीएसजीले आउँदो मंगलबार च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्नेछ। उक्त खेलमा भने मेस्सी उपलब्ध हुने सम्भावना उच्च रहेको छ। यहि सिजन बार्सिलोनाबाट पीएसजीसँग आवद्ध भएका मेस्सीले फ्रान्समा राम्रो सुरुवात गर्न सकेका छैनन्। उनले पीएसजीका लागि ३ खेलमा कुनै गोल गर्न सकेका छैनन्। उनले उक्त ३ खेल मध्ये एक खेल मात्र पूरा ९० मिनेट खेलेका छन्।
आइतबार लियोन विरुद्धको खेलपछि बोल्दै अर्जेन्टिनी प्रशिक्षकले मेस्सीलाई सम्भावित चोटबाट बचाउन आफूले मेस्सीलाई प्रतिस्थापन गर्ने निर्णय लिएको स्पष्ट पारेका थिए।