धुलिखेल अस्पताललाई सरकारले तिरेन २६ करोड !

काभ्रे – दैनिक १ हजार ५ सय भन्दा धेरै बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको देशकै नमुना धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

सरकारले स्वास्थ्य बीमा, कोरोनाको उपचार र अन्य सेवाबापत धुलिखेल अस्पताललाई भदौ मसान्तसम्म २६ करोड रकम भुक्तानी दिन बाँकी रहेको अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले बताउनुभयो । ‘स्वास्थ्य बिमाबापत सातामा १ करोड खर्च हुन थालेको छ’, श्रेष्ठले भन्नुभयो– ‘कर्मचारीले भदौदेखि तलब पाएका छैनन् भने कोरोनाको जोखिम भत्तासमेत उपलब्ध हुन सकेको छैन । दशैँ नजिकिन थालेपछि कर्मचारीलाई पेस्की भन्दा तलबको चिन्ता थपिएको छ ।’

कोरोना महामारीका कारण विद्यार्थीहरु भर्ना हुन नसक्दा शिक्षण अस्पतालसमेत रहेको धुलिखेललाई थप आर्थिक व्ययभार थपिएको हो । बिरामीको उपचार, शिक्षण शुल्कमार्फत व्यवस्थापन हुँदै आएको आर्थिक स्रोत कमजोर भएका कारण अस्पताललाई आर्थिक संकट पर्न थालेको हो । धुलिखेल अस्पतालले १ हजार ३ सय ९० कर्मचारीका लागि मासिक ७ करोड तलब भुक्तानी गर्नुपर्छ । भदौ र असोज महिनाको तलब १४ करोड र दशैं पेस्कीसमेत उपलब्ध गराउँदा १९ करोड भन्दा धेरै भुक्तानी गर्नुपर्नेछ ।

श्रेष्ठले औषधि खरिद, परीक्षणका लागि किटलगायतका अन्य सामग्री खरिद गर्न समेत रकम नभएको बताउनुभयो । सरकारले अस्पताललाई स्वास्थ्य बिमाबापत असार मसान्तसम्म ६ करोड रकम उपलब्ध गराउने बाँकी छ भने साउन र भदौ महिनाको १३ करोड रकम उपलब्ध गराउन बाँकी छ । असोज एक साताको १ करोड भइसकेको छ ।

‘प्राप्त हुनुपर्ने स्थानबाट समयमै रकम प्राप्त नहुने तर भुक्तानी समयमै गर्नुपर्ने हुनाले सेवा प्रवाहको चिन्ता थपिन थालेको छ’, श्रेष्ठले भन्नुभयो– ‘बिरामी आएर सेवा दिन नसक्दा लज्जित हुनुको विकल्प छैन । बिरामीको सेवा प्रभावित नहोस् भनेर हामी संवेदनशील छौं तर समस्या पैसाकै छ ।’

कर्मचारीलाई घटस्थापनाको १५ दिनअघि पेस्की रकम उपलब्ध गराउनुपर्ने प्रावधान छ । भदौ महिनाकै तलब दिन नसकेको अस्पतालले सेवा प्रवाह रोकिन नदिन सरकारलाई ताकेता गरिरहेको छ । असार मसान्तसम्मको बिमाबापतको ६ करोड भुक्तानीको तयारी भए पनि अस्पताललाई २० करोडको संकट परेको छ ।

प्रकाशित : आइतबार, असोज १०, २०७८०८:२७

अन्ततः फिर्ता हुने भयो दल विभाजन अध्यादेश !