रोनाल्डो जुनियरलाई राम्रो फुटबलर बनाउने रोनाल्डोको योजना, युनाइटेडमै रहेर आफैं प्रशिक्षण दिने !

एजेन्सी – युभेन्टसबाट यसै सिजन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डो आगामी तीन सिजन युनाइटेडमा रहन सक्छन्। दुई वर्षका लागि युनाइटेडसँग सम सम्झौता गरेका उनी तेस्रो वर्ष पनि बस्न सक्ने अनुमान गर्न सकिन्छ। उनको सम्झौतामा एक वर्ष थप गर्न सकिने विकल्प राखिएको छ। जस कारण उनी तेस्रो वर्ष पनि युनाइटेडमा बस्न सक्छन्।

रोनाल्डो मात्र नभई युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्सजार समेत रोनाल्डोले ४० वर्षको उमेर सम्म फुटबल खेल्नेमा ढुक्क छन्। शरीरले दिएसम्म फुटबल खेल्ने योजनामा रहेका रोनाल्डो सन्यास लिएपछि पनि युनाइटेडमै रहन सक्छन्।

फुटबलबाट सन्यास लिएपछि रोनाल्डो म्यानचेस्टरमै बस्ने र उनी युनाइटेडको प्रशिक्षण टोलीमा आवद्ध हुन सकने बेलायती पत्रिका ‘द सन’ले जनाएको छ। युनाइटेडको प्रशिक्षण टोलीमा रहेर रोनाल्डोले आफ्ना छोरा रोनाल्डो जुनियरको विकासमा सहयोग पुर्याउनेछन्।

रोनाल्डोका छोरा रोनाल्डो जुनियर उमेरले अहिले ११ वर्षका छन्। फुटबलमा उच्च चासो भएका उनी रोनाल्डो सँग-सँगै प्रशिक्षण समेत गर्दै आएका छन्। रोनाल्डो युभेन्टसमा हुँदा जुनियरले युभेन्टसको युवा टोलीबाट खेलेका थिए। ९ खेल खेल्दा उनले ४ गोल गरेका थिए।

रोनाल्डो जुनियरले आफ्नो पाइला पहिल्याउनेमा रोनाल्डो ढुक्क छन्। रोनाल्डो भन्छन्,”म उसलाई एक फुटबलर भएको हेर्न चाहन्छु। किनकि फुटबललाई लिएर उसमा जोश छ। त्यति मात्र होइन उ हार्न पनि मान्दैन।”

द सनले आफ्नो समाचारमा दावी गरे अनुसार रोनाल्डो जुनियरलाई राम्रोसंग तयार पारेर युनाइटेडबाट खेलाउने रोनाल्डोको योजना रहेको छ। जसकारण उनी जुनियरको प्रशिक्षणलाई नजिकबाट नियाल्न चाहन्छन्।

प्रकाशित : आइतबार, असोज १०, २०७८०९:३७

मार्टिनेजले “तैले हान् आइजो पेनाल्टी” भनेपछि डराए रोनाल्डो ? ब्रुनो पनि अत्तालिए !