काठमाडौँ – काठमाडौंको कपनमा रहेको ढलमा खसेर बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता बालकको शव ललितपुरमा फेला परेको हो।
उनको शव ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा फेला परेको प्रहरीले जनाएको छ। उनको शव बागमती नदीको किनारमा फेला परेको बताइएको छ।
गएको असोज ४ गते साँझ १० वर्षका उज्ज्वल विश्वकर्मा मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका थिए। उनी ढलमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसदिन देखि लगातार खोजि भैरहेपनि उनी फेला पर्न सकेका थिएनन्।
शव फेला परिसकेपछि उनको कपडाबाट परिवारले शव पहिचान गरिसकेका छन्। उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।