मार्का भन्छ- “ब्यालुन डी ओर दिने नै हो भने बेन्जेमालाई दिनुपर्छ, नत्र नदिए हुन्छ”

रियल म्याड्रिड स्टार करिम बेन्जेमा हाल आफ्नो करियर कै सर्वश्रेष्ठ लयमा रहेका छन्। २०१८ मा रोनाल्डोले क्लब छाडेपछि म्याड्रिडको प्रमुख गोलकर्ताका रूपमा अगाडी आएका बेन्जेमाले गत सिजन लालिगामा २३ गोल गर्न सफल भए।

यस सिजन भने फ्रान्सेली स्टार अझै उत्कृष्ट लयमा छन्। उनले सिजनको पहिलो ६ खेलमा ८ गोल र ७ असिस्टका साथ १५ गोलमा प्रत्यक्ष रूपमा संलग्न भए। ललिगाको पहिलो ६ खेलमा १५ गोलमा प्रत्यक्ष रूपमा संलग्न हुने बेन्जेमा लिग इतिहास कै पहिलो खेलाडी हुन्। रोनाल्डो र मेस्सी जस्ता सर्वश्रेष्ठ खेलाडी आफ्नो करियरको शिखरमा हुँदा खेलेको लिगमा यस्तो रेकर्ड बनाउनु भनेको सानो कुरा हैन।

हाल फ्रान्सेली फरवार्ड विश्व फुटबल कै सर्वोत्कृष्ट लयमा रहेका खेलाडी हुन्। उनले एर्लिंग हालाण्ड, किलियन एम्बाप्पे, लेवान्डोस्की, रोनाल्डो जस्ता खेलाडीलाई पनि पछाडी छाडेका छन्। मेस्सीसँग त हाल उनको तुलना नै गर्न मिल्दैन। यस्तोमा मार्काको एक लेखका अनुसार यो सिजनको ब्यालुन डी ओर रियल म्याड्रिड फरवार्ड करिम बेन्जेमाले नै पाउनु पर्छ।

“पछिल्ला केहि सिजन निकै उत्कृष्ट लयमा रहेला लेवान्डोस्कीले गत सिजन उक्त अवार्ड पाउने पक्का जस्तै थियो तर गत वर्ष यस प्रतिष्ठित अवार्ड कोरोना महामारीको कारणले स्थगित हुन पुग्यो। तर गत सिजन स्थगित भयो भनेर यो सिजन उनलाई दिनुको अर्थ हुँदैन। अब कुरा आउँछ मेस्सीको। अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख उपाधि जिताउन सफल पीएसजी स्टार नै हाल करियरको सातौँ ब्यालुन डी ओर जित्ने प्रमुख दाबेदार रहेका छन्। तर उनले क्लब स्तरमा गत सिजन खासै सफलता हात पार्न सकेनन्। अर्को दाबेदार रहेका छन् इटालियन मिडफिल्डर जर्जिन्हो, उनले चेल्सीसँग च्याम्पियन्स लिग जिते र इटालीसँग युरो २०२०, तर दुबै टोलीमा उनी प्रमुख खेलाडी थिएनन्,” मार्का लेख्छ।

मार्काका अनुसार यस्तोमा यदि ब्यालुन डी ओर एक साँच्चै नै गम्भीर पुरस्कार हो भने बेन्जेमाले पाउनु पर्छ।

प्रकाशित : आइतबार, असोज १०, २०७८१७:५२

साफ च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा, को-को परे ?