भिसा लागेका विद्यार्थी दुई वर्षदेखि नेपालमै अड्किए !

काठमाडौं । अध्ययनका लागि विदेश जान भिसा आएर बसेका विद्यार्थीहरु करिब दुई वर्षदेखि अलपत्र परेका छन् । कोरोना महामारीका कारण विभिन्न मुलुकहरुले विद्यार्थीको आवागनमनमा प्रतिबन्ध लगाएपछि नेपाली विद्यार्थी त्यसको मारमा परेका हुन् । केही विद्यार्थीहरुले नेपालबाट विदेशी विश्वविद्यालयहरुलाई पैसा पठाएर अनलाइन कक्षामार्फत अध्यननलाई अघि बढाएका छन् भने केही विद्यार्थीहरु प्रतिबन्ध हट्ने समय कुरेर बसेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

वैदेशिक अध्ययनमा जाने अधिकांश विद्यार्थीको सोचाई अध्ययन गर्दै पैसा कमाउने हुन्छ । सोही सोचका साथ झापाका मिलन थापाले पनि जापान जाने निधो गरे । जापानको टोकियो इन्टरनेशनल युनिभर्सिटीमा इन्टरनेशनल रिलेशन (आईआर) विषय पढ्न जाने प्रक्रिया अघि बढाए । उनलाई युनिभर्सिटीले अध्ययनका लागि जापान आउन योग्य रहेको पत्र (सिओई) दिए पनि जापान सरकारले विदेशी नागरिक तथा विद्यार्थीलाई आउन रोक लगाएका कारण उनी जान पाएका छैनन् ।

उनले युनिभर्सिटीलाई शुल्क समेत बुझाइ सकेका छन् । नेपालबाट अनलाइन कक्षा लिँदा मासिक करिब १ लाख रुपैयाँ लाग्ने र उक्त आर्थिक भार थेक्न नसक्ने भएकाले युनभिर्सिटीलाई डेढ लाख रुपैयाँ तिरेर ६ महिनाको विदा लिएको उनले बताए । उक्त विदा पनि सकिएको उनले जानकारी दिए । उनले भने, ‘हामी जस्तो मध्यम वर्गीय आर्थिक अवस्था भएका सबै विद्यार्थीहरुको विदेशमा गएर आफ्नो खर्च आफै कमाउने सोच हुन्छ । मैले पनि त्यही सोचका साथ जापान जाने निधो गरेको थिएँ ।’

हालसम्म करिब १४ लाख रुपैयाँ खर्च भइसेको उनले बताए । जापान गएरै निर्धक्कले पढ्ने सोच बनाएर ६ महिनाको विदा लिए पनि हालसम्म जापान सरकारले विदेशी नागरिकलाई प्रवेश नदिएकाले समस्या भएको उनले बताए । फेरि ढेड लाख तिरेर ६ महिनाको विदा लिदाँ बीचमै जापान जाने अवसर आए विदा अवधिभर जान नपाइने र सिओईको समय अवधि आगामी पुसमा सकिने भएकाले विदा लिने कि नलिने भन्ने दोधारमा रहेको उनले बताए ।

प्रकाशित : सोमबार, असोज ११, २०७८०७:५२

१० बुँदेले एमाले लफडा, बैठकमा चर्काचर्की !