काठमाडौं । कांग्रेस महाधिवेशन पछि धकेल्न सभापति शेरबहादुर देउवा चाहिरहेका छन् । महाधिवेशन सारेर पुसमा पुर्याउने उनको चाहना छ । सोहीअनुसार देउवानिकट महामन्त्री पूर्णबहादुर खड्काले बिहीबारको पदाधिकारी बैठकमा महाधिवेशन एक महिनापछि अर्थात् पुसको ९ देखि १३ मा गर्नुपर्ने प्रस्ताव सारे । जुन प्रस्तावको संस्थापनइतर पक्षबाट अस्वीकार भइसकेको छ । महाधिवेशन नगर्ने षड्यन्त्रको रूपमा अथ्र्याउन पनि थालेको छ । अस्वीकार हुने थाहा पाएर पनि देउवाले महामन्त्री खड्कालाई महाधिवेशन सार्ने प्रस्ताव गराएका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
उसो भए देउवा महाधिवेशन किन सार्न चाहन्छन् ? सार्न चाहनुको अन्तर्य के–के हुन सक्छन् ? यसबारे राजनीतिक विश्लेषकहरू यी कारण हुन सक्ने औंल्याउँछन् । सभापति देउवा नेतृत्वको केन्द्रीय समितिको चार बर्से कार्यकाल सकिएको २०७६ फागुनको १९ गते हो । जतिबेला कोभिड महामारी थिएन । तैपनि महाधिवेशन सारेर २०७७ फागुन ७ देखि १० गते गर्ने भनेर सारिदिए ।
विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष सार्न मिल्ने सुविधाअनुसार सारिएको हो । तर, सारिएको अवधिमा महाधिवेशन गराउन देउवा असक्षम भए । अन्ततः केन्द्रीय समिति बैठकबाट भदौको १६ देखि १९ गते महाधिवेशन गर्ने निर्णय गराए । तोकिएको उक्त मितिमा पनि महाधिवेशन नगरेर उनले मंसिरको ९ देखि १३ गतेसम्म गर्ने निर्णय गराए ।
अझै सारेर पुसमा प¥याउने उनको तयारी छ । राजनीतिक विश्लेषक डा. विष्णु दाहाल महाधिवेशन नगरेर पार्टी सत्तालाई लम्ब्याइरहने, पार्टीलाई कब्जा गरिरहने र आफ्ना विचारलाई जबर्जस्ती लादिरहने चाहना देउवामा रहेको विश्लेषण गर्छन् । ६४ जिल्लाको वडा अधिवेशनपछि गाउँ÷नगर अधिवेशन हुँदा १३ जिल्लामा भने क्रियाशील सदस्यता विवाद कायमै छ । सदस्यतामा देउवाले धाँधली गरेको आरोप संस्थापनइतर पक्षको छ ।
देउवाकै गृह जिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशन पनि पुनः हुनुपर्ने माग उठेको छ । जहाँ प्रशासन लगाएर बलपूर्वक अधिवेशन गराउँदै प्रतिनिधि छनोट गरेको आरोप देउवामाथि लागेको छ । यसरी देउवा जसरी भए पनि सभापति पदमा निर्वाचित हुने गरिको वातावरण बनाउनमा लागेको देखिन्छ । तर, अर्का राजनीतिक विश्लेषक दुर्गा सुवेदीलाई देउवा प्रतिकूल वातावरण कांग्रेसमा बनेको लागेको छ । तै पनि, जित्ने गरिको माहोल बनाएर महाधिवेशन गर्ने देउवाको चाहना रहेको सुवेदीको विश्लेषण छ ।
‘यत्रो वर्ष सभापति भएपछि हार्ने त उनको चाहना होइन नि । त्यही भएर उनी जित्ने माहोल बनाउँदै छन्’, सुवेदीले भने, ‘अहिले पार्टीभित्र देउवाको प्रतिकूल वातावरण छ । समयमा छोडेको भए यस्तो हुने थिएन ।’ एजेण्डा र विचार पुरानै भए पनि वडा अधिवेशनदेखि गाउँ÷नगरको अधिवेशनमा प्रतिनिधिहरू अधिकांश युवा पुस्ताका आए । गाउँ/नगरदेखि पनि प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रबाट नेतृत्वसँगै प्रतिनिधिहरू युवा बढी आएका छन् ।