पछिल्ला केहि हप्ताहरुमा बार्सिलोनामा चलिरहेको विनाश र उदासीनताको अस्थायी रूपमा भए पनि अन्त्य भएको होकी भन्ने लाग्यो। आइतबार भएको खेलमा लेभान्तेलाई बार्सिलोनाले ३-० ले पराजित गर्दै ३ खेलको अपराजित यात्रा अन्त्य गरेको छ।
१० महिनापछि चोटबाट फर्किएका अन्सु फातीले मैदान प्रवेश गरेको १० मिनेट मै गोल गरेको खेलमा बार्सिलोनाका लागि मेम्फिस डेपाए र लुक डी योंगले गोल गरेका थिए। आइतबारको जीतसँगै रोनाल्ड कोम्यानको टोलीले गत सिजनको भन्दा राम्रो सुरुवात गरेको छ, जब बार्सिलोनामा लियोनल मेस्सी पनि सम्मिलित थिए। यस सिजन भने उनी फ्रेन्च क्लब पीएसजीसँग आवद्ध भएका छन्।
यस सिजन लिगको पहिलो ६ खेलमा बार्सिलोना १२ अंक जोड्न सफल भएको छ। गत वर्षको कुरा गर्ने हो भने लिगको सुरुवाती ६ खेलमा बार्सिलोनाले मात्र ८ अंक जोड्न सफल भएको थियो। त्यस्तै, गोल सङ्ख्याको तुलना गर्नुपर्दा पहिलो ६ खेलमा गत सिजन बार्सिलोनाले १० गोल गर्न सफल भएको थियो भने यो सिजन ११ गोल गरेको छ।
गत सिजनको हिसाबले केहि कुरा यो सिजन अझ कमजोर देखिएको छ भने त्यो हो डिफेन्स। २०२०/२१ सिजनको पहिलो ६ खेलमा ५ गोल खाएको बार्सिलोनाले यस सिजन पहिलो ६ खेलमा क्लबले ६ गोल खाइसकेको छ।