एजेन्सी – बार्सिलोनाको मुख्य खेलाडीको रुपमा हेरिएक अन्सु फाती १० महिना पछि मैदानमा फर्किएका छन्। गएको वर्ष घाइते भएका फाती लेभान्टे विरुद्धको खेलमा मैदानमा फर्किएका हुन्।
फाती माथि बार्सिलोनाले धेरै नै ठूलो आशा राखेको छ। लियोनेल मेस्सीले क्लब छाडे पछि रिक्त भएको १० नम्बरको जर्सी समेत फातीले पाइसकेका छन्। १० महिना पछि पहिलो पटक मैदानमा उत्रँदा फातीले आइतबार राति लेभान्टे विरुद्ध १ गोल गरे। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा उनले गोल गरेका थिए।
फाती फिर्ता भएसँगै केहि समय देखि लयमा नरहेको बार्सिलोनालाई ठूलो राहत मिलेको छ। खास भन्ने हो भने सबै भन्दा ठूलो राहत प्रशिक्षक रोनाल्ड कोम्यानलाई मिलेको छ।
लगातारको कम्जोर प्रदर्शनले कोम्यानलाई बर्खास्ती नजिक पुर्याएको थियो। फातीको उपस्थितिमा पहिला भन्दा बलियो प्रदर्शन गर्न सकेको खण्डमा कोम्यानको बर्खास्ती टर्न सक्छ। एक हिसाबले भन्नुपर्दा फाती कोम्यानको बर्खास्ती रोक्ने सबै भन्दा महत्वपूर्ण अस्त्र हुन सक्छन्।
जोर्डी अल्बा र पेड्री प्रशिक्षणमा
गएको केहि समय देखि चोटिल भएर आराम गरिरहेका जोर्डी अल्बा र पेड्री मैदानमा फर्किने तयारीमा छन्। दुवै खेलाडी बार्सिलोनाको प्रशिक्षणमा सहभागी भैसकेको अवस्था छ। यो पनि कोम्यानका लागि सुखद खबर रहेको छ। गएको वर्ष बार्सिलोनाका हरेक खेलमा उच्च प्रदर्शन गरेका पेड्री मैदानमा उत्रिएको खण्डमा बार्सिलोना अझ सन्तुलित हुनेछ।