एजेन्सी – रियल म्याड्रिडका अधिकारीहरुले बोरुसिया डर्टमुन्डका युवा स्टार एर्लिङ हालाण्डसँग सम्पर्क गरिसकेको खुलासा भएको छ। रियल म्याड्रिडका उच्च अधिकारीहरुले हालाण्डसंग भेटघाट गरिसकेको एक बेलायती पत्रिकाले खुलासा गरेको हो।
उक्त पत्रिकाका अनुसार रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले समेत हालाण्डलाई भेटिसकेका छन्। फ्लोरेन्टिनो सहितका अधिकारीहरुले हालाण्ड र एजेन्ट सहितका व्यक्तिहरुसंग भेटघाट गरेर आफ्नो योजना बारे जानकारी गराइसकेको ‘द टाइम्स’ पत्रिकाले जनाएको छ।
सन् २०२२ को सिजनमा सक्रिय हुने ७५ मिलियन युरोको रिलिज कल्ज समेत तिर्न रियल तयार भएको बताइन्छ। उक्त रिलिज कल्ज सक्रिय भएपछि हालाण्डलाई किन्न जुनै पनि क्लबले ७५ मिलियन तिर्न सक्नेछन्।
हालाण्डको रिलिज कल्ज सक्रिय भएपछि अन्य क्लबले पनि हालाण्डलाई भित्र्याउन खोज्ने बुझेको रियल हालाण्डलाई फुत्किन दिने योजनामा छैन। जस अनुरुप उसले पहिला नै हालाण्डसंग सम्पर्क गरिसकेको उक्त पत्रिकाले दावी गरेको छ।
एम्बाप्पे र हालाण्ड भित्र्याउन सफल हुनेमा रियल ढुक्क
गएको ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई भित्र्याउन सक्दो प्रयास गर्यो। एम्बाप्पे भित्र्याउन रियल २ सय मिलियन युरो सम्म तिर्न तयार भएपनि पेरिस सेन्ट जर्मेन(पिएसजी)ले एम्बाप्पेलाई बिक्री गर्न चाहेन। यस ट्रान्सफर विन्डोमा आफ्नो योजना असफल भएपछि रियल नयाँ योजना सहित अगाडी बढिरहेको छ। रियल म्याड्रिडले आउने ट्रान्सफर विन्डोमै एम्बाप्पेसंग अग्रिम सम्झौता गर्ने योजना बनाएको छ।
स्पेनिस मिडियाहरुका अनुसार रियल हालाण्ड र एम्बाप्पे दुवैलाई भित्र्याउन सक्नेमा ढुक्क छ। आर्थिक रुपमा समेत सवल अवस्थामा रहेको रियल एम्बाप्पे र हालाण्ड दुवै खेलाडी भित्र्याउन सफल होला, नहोला भन्ने समयले नै बताउनेछ।