पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रमुख प्रशिक्षक मौरिसियो पोचेटिनोले च्याम्पियन्स लिग जित्ने मुख्य दाबेदार म्यानचेस्टर सिटी भएको दाबी गर्नुभन्दा केहि मिनेट अगाडी सिटीका बोस पेप ग्वार्डिओलाले पेरिस सेन्ट जर्मेन (पीएसजी) का तीन स्टार मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियोलाई रोक्न निकै कठिन हुने स्वीकार गरेका छन्।
यस सिजनको च्याम्पियन्स लिग समूह चरणको सबैभन्दा रोमान्चक खेल मंगलबार राति हुँदैछ। यस्तोमा गत सिजनको सेमी-फाइनलको रि-म्याच अगाडी दुबै पक्षका प्रशिक्षकले एक-अर्काको प्रसंशा गरेका छन्। पीएसजीमा यसै सिजन अनुबन्ध भएका पूर्व बार्सिलोना स्टार लियोनल मेस्सी पनि सिटी विरुद्धको खेलका लागि उपलब्ध हुने पोचेटिनोले जानकारी दिएका छन्। अर्जेन्टिनी कप्तानले क्लबको पछिल्लो २ खेल चोटका कारण गुमाएका थिए।
गत सिजन आफ्नो क्लबले फ्रेन्च क्लबलाई सहज रूपमा पराजित गरेपनि यस सिजन भने सिटीले पीएसजीलाई हराउन निकै कठिन हुने बताएका छन्। “हामीले के गर्नुपर्छ? मलाई थाहा छैन,” ग्वार्डिओलाले भने,”यस्ता क्षमता भएको टोलीलाई कसरी रोक्ने भन्ने मलाई थाहा छैन। उनीहरुसँग निकै प्रतिभावान खेलाडी छन्।”
मेस्सी-नेयमार-एम्बाप्पे ट्रियोलाई रोक्न निकै कठिन हुने स्वीकार गर्दै स्पेनिसले भने,”उनीहरु असाधारण खेलाडी हुन्। व्यक्तिगत रूपमा पनि सबै एकसे एक खेलाडी हुन्। एकसाथ हुँदा तीनै खेलाडी हरेक टोलीको समस्या बन्न सक्छन्।”