जियानलुइजी डोनारुमा कथित रूपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुखी छन्। एक आश्चर्यजनक रिपोर्टका अनुसार त्यसको कारण भने उनी टोलीमा धेरै खेल्न नपाउनु हो जसको मुख्य कारण मेस्सी रहेको खुलासा गरेको छ।
युरो कप २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका इटालियन गोलकिपर यसै सिजन मात्र फ्री-ट्रान्सफरमा एसी मिलानबाट फ्रेन्च क्लब आएका हुन्। तर अहिलेसम्म उनले क्लबको १० मध्ये मात्र २ खेल खेल्न सफल भएका छन्। उनी पूर्व रियल म्याड्रिड गोलकिपर केलर नाभासको छायाँमा परेका छन्।
फुटबल इटालियाको एक रिपोर्ट अनुसार डोनारुमालाई दक्षिण अमेरिकी खेलाडीहरुको बलियो टोलीले बाहिर राखेको हो। मेस्सी, एन्जल डि मारिया, केलर नाभास, मार्कीनियोस र नेयमार लगायतका समूह अनुभवी नाभासको ठूलो समर्थक हुन्। सन्तुलित टोलीमा विश्वास गर्ने क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनो आफ्नो टोलीको इच्छा अनुसार खेलाडी छनौट गर्ने गर्छन्। आफूले खेलको आधारमा गोलकिपर छनौट गर्ने पोचेटिनोले अहिलेसम्म नाभास र डोनारुमा बीच एक नम्बर गोलकिपर को भन्ने खुलासा गरेका छैनन्।