एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पिएसजीले सिटीलाई २–० ले पराजित गरेको हो । एक गोल इड्रिसा गाना गुआईको नाममा रह्यो । खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईको गोलबाट घरेलु टोली पिएसजीले अग्रता लिएको थियो । उनले अचरफ हाकिमी हुँदै एमबाप्पेले मिलाइदिएको लो क्रसलाई नेयमारले प्रहार गर्न नसकेको बललाई गानाले जाली चुमाउन सफल भएका थिए ।
२६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा बर्नाडो सिल्भा चुक्दा सिटी पनि बराबरीबाट चुक्यो । ३८औं मिनेटमा मेन्डेसको पासमा एमबाप्पेको प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाउँदा पिएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै कर्नरबाट आएको पासमा मार्किन्हसले सदुपयोग गर्न सकेनन् ।
४३औं मिनेटमा केभिन डि ब्रुएनको कर्नरमा रुवेन डियासको हेडर सदुपयोग हुन सकेन । ५४औं मिनेटमा रियाद महारेजको पासमा केभिन डि ब्रुयनले गोल गर्न सकेन । ६४औं मिनेटमा नेयमारले सुवर्ण अवसर खेर फाले । ६६औं मिनेटमा रियाद महारेजको प्रयासलाई पिएसजीका गोलरक्षक जियानलुइजी डोन्नररुम्माले विफल पारे ।
७४औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले केलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । मेस्सीले नयाँ सिजनमा पिएसजीका लागि चार खेल खेल्दा गोलको खडेरी तोड्न सफल भए । ७९औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा रियल महारेजको प्रहारलाई डोनररुम्माले सहजै नियन्त्रमा लिए ।
इन्ज्युरी समयमा रियाद महारेजले दुई अवसर पाएपनि गोल गर्न नसक्दा पिएसजीले सिटीविरुद्धको हारको श्रृंखला तोड्न सफल भयो । पिएसजीले सिटीसँग चार खेल खेल्दा ३ हार र एक बराबरीको नतिजा निकालेको थियो ।
यही समूह ‘ए’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिग घरेलु मैदानमा बेल्जियन टोली क्लब ब्रुगसँग २–१ ले पराजित भएको छ ।
यो नतिजापछि पिएसजी दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । पराजित सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा लाइप्जिग अंकविहीन हुदै पुछारमा छ ।