एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को खेलमा च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिड पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग घरेलु मैदानमा स्तब्ध बनेको छ ।
सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलमा घरेलु टोली रियल सेरिफसँग २–१ ले स्तब्ध बनेको हो । सेरिफले पहिलो खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले स्तब्ध पारेको थियो । रियललाई स्तब्ध पार्न सेरिफका डिजासुर याक्सिवाइभ र सेवास्टिन थिलले गोल गरे । कप्तान करिम बेन्जेमाले गोल गरेपनि रियलको हार टार्न सकेनन् ।
खेलको १८औं मिनेटमा कप्तान करिम बेन्जेमाको प्रहारलाई सेरिफका गोलरक्षक जिओरजिओस एथानासियाडिसले विफल पारे । २५औं मिनेटमा सेरिफले डिजासुर याक्सिवाइभको गोलबाट खेलमा अप्रत्यासित अग्रता लिन सफल भयो । उनले क्रिस्टियानोको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेपछि रियलले बल पोसेसन राख्दै पाहुना टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो । ३१औं मिनेटमा बेन्जेमाको प्रहारमा गोलरक्षक जिओरजिओस एथानासियाडिसले नै बाधक बने ।
३५औं मिनेटमा बेन्जेमाको हेडर ब्लक भएर फर्कदा भिनिसियस जुनियरको प्रयास पनि ब्लक भएर फर्कदा इडेन हाजार्डको प्रयासलाई गोलरक्षक जिओरजिओस एथानासियाडिसले राम्ररी नियन्त्रणमा लिन नसकेपनि नाचोको प्रहारसदुपयोग हुन नसक्दा रियल बराबरीबाट चुक्यो ।
६५औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा एड्डो र कोस्टान्जाले भिनिसियस जुनियरलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थियो । ६८औं मिनेटमा इडुआर्डाे कामाभिंगाको पासमा भिनिसियसको प्रहारलाई गोलरक्षक जिओरजिओस एथानासियाडिसले बचाउँदा रियलले खेलमा अग्रता लिने अवसर गुमायो ।
७४औं मिनेटमा लुका मोड्रिचको प्रयासमा गोलरक्षक जिओरजिओस एथानासियाडिस नै बाधक बने । ८२औं मिनेटमा लुका जोभिकको प्रहार ब्लक हुदा भिनिसियस जुनियरको कटब्याकमा रोड्रिगोको प्रहार सदुपयोग हुन सकेन ।
८९औं मिनेटमा सेवास्टिन थिलले गोल गर्दै सेरिफलाई २–१ को अग्रता दिलाए । एडमा ट्राओरेको पासमा पेनाल्टी बक्सबाहिरको हाफ भली प्रहारले गोलरक्षक थिवाउट कोर्टुवालाई बिट गर्दै गोलमा परिणत भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल स्तब्ध बन्न पुग्यो ।
सेरिफको जितमा गोलरक्षक जिओरजिओस एथानासियाडिस नायक बने । उनले रियलको दर्जन बढी प्रयासलाई विफल पारेका थिए । यो नजिताँगै रियलले नयाँ सिजनमा पहिलो हार बेहोर्न पुग्यो । रियलले यो सिजन ९ खेल खेल्दा ६ जित २ बराबरी र १ हारको नतिजा निकाल्यो ।
यही समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र इटालियन क्लब इन्टर मिलानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो नतिजापछि सेरिफ दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । रियल ३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा इन्टर मिलान र साख्तरले समान १ अंक जोड्दै तेस्रो र चौथो स्थानमा रहेका छन् ।