एजेन्सी – गत वर्ष युरोप लिगको फाइनलमा भेट भएका म्यानचेस्टर युनाइटेड र भिल्लारियल आज आमने-सामने हुँदैछन्। च्याम्पियन्स लिग समूह चरण अन्तर्गतको खेलमा युनाइटेड र भिल्लारियल बीच भेट हुन लागेको हो।
युनाइटेड र भिल्लारियल दुवै पहिलो जितको खोजिमा हुनेछन्। युनाइटेड समूह ‘फ’को पुछारमा छ भने भिल्लारियल समूहको तेस्रो स्थानमा छ। समूहचरणको पहिलो खेलमा युनाइटेड योङ ब्वाइजसंग स्तब्द हुन पुगेको थियो भने भिल्लारियलले एटलान्टासंग बराबरी खेकेको थियो।
आज हुने खेलमा युनाइटेड युरोपा लिगको फाइनलमा बेहोरेको हारको बदला लिने दाउमा हुनेछ भने भिल्लारियल पनि जित दोहोर्याउने दाउमा हुनेछ। गत योरोपा लिगको फाइनलमा युनाइटेड पेनाल्टी शुटआउटमा पराजित हुन पुगेको थियो।
के भन्छ तथ्यांक ?
म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगका पछिल्ला सात खेलमा कुनै पनि स्पेनिस टीमलाई हराउन सकेको छैन। युनाइटेडले पछिल्लो पटक रियल सोसिडाडलाई सन् २०१३ मा हराएपछि च्याम्पियन्स लिगमा कुनै पनि स्पेनिस टीमलाई हराउन सकेको छैन।
युरोपका प्रतियोगिताहरुमा युनाइटेड र भिल्लारियल बीच भएका पछिल्ला पाँचै खेल बराबरीमा टुंगिएका छन्। युरोपा लिगको फाइनल समेत बराबरीमा टुंगिएपछि पेनाल्टीमा गएको थियो। जसमा भिल्लारियल विजयी भएको थियो।
कति बजे कहाँ हेर्ने ?
युनाइटेड र भिल्लारियल बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। ओल्ड ट्राफोर्डमा हुने उक्त खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैन। पिएसजी र सिटी विरुद्धको खेल भारतीय च्यानल सोनी टेन २ बाट प्रशारण हुनेछ।